काठमाडौं वैशाख, २९–
पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई पूर्वाग्रहीको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद कार्कीले आईतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव दिएका हुन् ।
सांसद कार्कीले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री डाक्टर खतिवडालाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सुझाव दिएका हुन् ।
उनले भने, ‘मुलुकको ढुकुटीको चावी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पुर्वाग्रह भन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी छ । आफू बाहेक अरु सबै खराब हुन भन्ने दर्शनले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन ।’
सांसद कार्कीले यत्रतत्र जथाभावी कनिका जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रुपमा लिएको आरोप लगाए ।
सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनले जोड दिए ।
बजेटको अनुशासन कायम भएको भन्ने सरकारको दाबी सही नभएको टिप्पणी उनले गरे ।








