समुदायसँग सहकार्य गरेर जनताको मन जित्छौंः महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा



काठमाडौं वैशाख, २९–
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलनमार्फत अपराधी विरुद्ध कठोर कदम चाल्ने बताएका छन् । आइतबार महानगरीय प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र अपराध महाशाखा सहकुल थापाले संयुक्त रुपमै सो कुरा बताएका हुन् ।

परिसर र महाशाखामा नेतृत्व सम्हालेलगत्तै उनीहरुले संयुक्त रुपमा आयोजित कार्यक्रम आयोजना गरेका हुन् । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी सुवेदीले नागरिकलाई सुरक्षित वातावरणमा बाँच्ने वातावरण निर्माण गर्न प्रहरी सक्रिय भएर लाग्ने बताए ।
उनले आर्थिक अपराध, टोले गुण्डागर्दी, सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार र वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध कठोर रुपमा प्रस्तुत हुने प्रष्ट पारे । एसएसपी सुवेदीले भने,‘‘अपराधीविरुद्ध कठोर हुन्छौं, जनताको मन जित्छौं । समुदायसँग सहकार्य गरेर अगाडी बढ्छौं ।’ रात्रिकालीन व्यवसायलाई मर्यादित बनाउन पहल गरिरहेको भन्दै एसएसपी सुवेदीले प्रहरी व्यावसायिकतामा आँच आउने कुनै काम नगर्ने र महाततका निकायलाई पनि गर्न नदिने दाबी गरे ।

त्यस्तै, महाशाखाका एसएसपी सहकुल थापाले परिसरसँगको सहकार्यमा राजधानीलाई अपराधमुक्त र सुरक्षित बनाइने बताए । उनले भने, ‘प्रहरीको साख गिर्न दिइन्न, अझै उचो पारिन्छ । गुण्डाहरु एक हुन सक्छन भने हामी समान उद्देश्य बोकेका प्रहरी किन एक हुन सक्दैनौं । सबै प्रकारका अपराधविरुद्ध एकजुट भएर अगाडी बढ्छौं ।’

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  ९ : ४९ बजे