काठमाडौं वैशाख, ३०–
सोमबार मात्रै डीआईजीको फुली लगाएका विश्वराज पोखरेल नेपाल प्रहरीको प्रवक्तामा नियुक्त भएका छन् । प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै डीआईजी पोखरेलले जनता र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउन लागिपर्ने बताए । संगठनले दिएको जिम्मेवारी सरोकारवाला सबै निकायसँग समन्वय गरेर इमान्दारीपूर्वक पूरा गर्ने बताए । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए ।
यसैबीच ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा पोखरेल एकल सिफारिसमा परेका थिए । डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा डिआईजीको एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याचबाट डिआईजी हुने एकल व्यक्ति हुन् ।
गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डीआईजी बढुवाको सिफारिस गरेको थियो । यसअघि उनी लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए ।