मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २३औँ पटक चुमे सर्वोच्च शिखर सगरमाथा



काठमाडौं जेठ, १–
साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् ।

कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । उनीहरुले समान २१ पटक सगरमाथा चढेका छन् । यद्यपि, उनीहरुको नाममा थप कीर्तिमान बन्ने छैन । आरोहणबाटै सन्यास लिइसकेका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ६ : ३९ बजे