काठमाडौं जेठ, ४–
नेपाली कांग्रेसका नेता धनराज गुरुङले पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपाल पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईलाई कडा प्रहार गरेका छन् । शुक्रबार मात्रै पोखराको एक कार्यक्रममा डा. भट्टराईले कांग्रेसलाई म्युजियममा राख्ने बताएको भोलिपल्ट कांग्रेसका प्रखर वक्ता समेत रहेका युवा नेता गुरुङले भट्टराईलाई कडा प्रहार गरेका हुन् ।
नेता गुरुङले सामाजिक सञ्जार फेसबुकमार्फत भट्टराईलाई शिष्ट भाषामा चिडियाखानामा राख्नुपर्ने भनेर उल्लेख गरेका छन् । नेता गुरुङले लेखेका छन्, ‘एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेका रहेछन्। तर, पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।’ कांग्रेस नेता गुरुङले डा. भट्टराईको नामै उल्लेख नगरेर उक्त स्टाटस लेखेका छन् ।
उनले भट्टराई जस्तो गालीगलौजमा नउत्रिने समेत भनेका छन् । स्मरणिय छ, गएको प्रतिनिधिसभा निर्वाचनमा डा. भट्टराई कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचित भएक थिए ।








