मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि



काठमाडौं जेठ, ६–
सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु(याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु(याइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु(याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ ।

पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन । गृह मन्त्रालयको प्रस्तावमा दुई साताअघिको मन्त्रिपरिषद्को बैठकले भिसा शुल्क बढाउने निर्णय गरेको हो । यो राजपत्रमा प्रकाशित भएदेखि लागू हुनेछ ।

नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको भिसा शुल्क पनि बढेको छ । डिग्री प्रोग्रामअन्तर्गत नेपाल आउने विदेशी विद्यार्थीले भिसा लिँदा तिर्नुपर्ने शुल्क पाँच डलर बढेर ३० डलर पुगेको छ ।

अध्यापन तथा अनुसन्धान गर्न आउने विदेशी र तिनका आश्रितले यसअघि मासिक ४० डलर तिर्नुपर्नेमा अब ५० डलर तिर्नुपर्नेछ । शिक्षक आदान–प्रदान कार्यक्रमअन्तर्गत आएका विदेशीले तिर्नुपर्ने शुल्क पनि पाँच डलर पुगेर १५ डलर तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  १ : ५० बजे