काठमाडौं जेठ, ७–
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले लगाइएको आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।
सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिंङले भने, ‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, ९छानबिन० सम्बन्धित निकायले गर्ला ।’ कुलमानले सांसद भएको आधारमा जे पनि आरोप लगाउन नपाइने बताए । उनले भने ‘अनावश्यक चार्ज नगर्नुहोला । सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’
सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि कुलमानले प्रमाणित भए मर्ने चेतावनी दिएका हुन् । वैठकमा नेकपा सांसद मोदीले जे गल्ती गरे पनि लोडसेडिङ हटाएको जस लिएर उम्किन्छु भन्ने लोभमा कुलमानमा दम्भ बढेको आरोप लगाए । स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीको दाबी छ ।
कुलमान आइसकेपछि पनि डेडिकेटेड लाइन लिएका उद्योगमा किन बेलैमा बिल नपठाएको भन्दै उनले प्रश्न गरेका थिए । त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले ‘यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ कोहो ?’ भन्दै प्रश्न गरे ।
सार्वजनिक लेखा समितिको मंगलबारको वैठकमा प्राधिकरणले बितरण गरेको डेडिकेटेड फिडरको बक्यौता असुली सम्बन्धमा छलफल भएको थियो ।