काठमाडौं जेठ, १२–
ब्ल्यांक चेकमाब हस्ताक्षर गराएर आफूखुसी रकम भरेर बाउन्स गराउने एक महिलालाई पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी अप्सरा श्रेष्ठ कार्कीलाई ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरेको आरोपमा अपराध महाशाखा काठमाडौंले शुक्रबार पक्राउ गरेको हो ।
३६ बर्षिय श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउने विभिन्न व्यक्तिलाई बढिमा २०÷२५ हजार ऋण सापटी दिने गर्थिन्। त्यसबापत ऋणीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाउँने गरेको उनीमाथि आरोप छ ।
हस्ताक्षर गराइसकेपछि उनले ती चेकहरूमा आफूखुसी रकम भर्थिन् र चेक बाउन्स गराउँदै दुःख दिने गरेको प्रहरीले जनाएको छ ।
महाशाखा प्रहरीका अनुसार ऋण फिर्ता गर्नेलाई समेत रकम फिर्ता नगरेको भन्दै चेक बाउन्स गराएर दुःख दिने गर्थिन्।
उनीविरुद्ध ६ जनाले महाशाखामा उजुरी दिएका थिए। सोही उजुरीमाथि छानविन गर्ने क्रममा उनको यस्तो ठगी ठन्दाको खुलासा भयो।
प्रहरीले फेन्सी व्यवसाय गर्दै आएकी उनीबाट विभिन्न बैंकका ब्ल्यांक चेक ३२ थान, आफूखुसी रकम उल्लेख गरेका चेक ३५ थान र बाउन्स गरिएका चेक ७ थानका साथमा हिसावकिताव राखेको कापी ३४ थान, डायरी र रजिष्टार बरामद गरेको छ ।
बरामद गरिएका ३४ थान चेकमा श्रेष्ठले एक करोड ३४ लाख ६२ हजार बराबरको रकम भरेको पाइएको छ। यस्तै बाउन्स गरिएका चेकमा ५६ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ।