अन्ततः गले अर्थमन्त्री खतिवडा, वितरणमुखी बजेट ल्याउने तयारी



काठमाडौं जेठ, १४–
चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा. युवराज खतिवडा यसपटक भने गलेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले मात्रै होइन, सत्तारूढ दलकै सांसद र शीर्ष नेतृत्वले समेत आलोचना गरेका थिए । यसपटक भने पार्टीले भनेअनुसार यी सबै विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहेका छन् ।

स्रोतले धानेसम्म राजनीतिक कार्यक्रमलाई स्थान दिने भनेर उनले सार्वजनिक रूपमा बोलेका मात्रै छैनन्, सत्तारूढ दलका अधिकांश सांसदलाई अर्थ मन्त्रालयमै बोलाई बजेटमा के–के गरौँ भनी रायसमेत मागेका छन् ।

हाल ७० वर्ष उमेर कटेका वृद्धवृद्धाले एक हजार भत्ता र एक हजार औषधोपचार खर्च गरी मासिक दुई हजार भत्ता पाउँदै आएका छन् । त्यसभन्दा कम उमेरका, तर भत्ता पाउने व्यक्तिहरूले सामान्यतः मासिक एक हजार भत्ता पाउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेटबाट ७० वर्ष उमेर कटेकालाई भत्ता र औषधोपचार खर्चमा पाँच–पाँच सय वृद्धि गरी एक हजार बढाउने तयारीमा अर्थमन्त्री छन् ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गरिसकेको छ । गत वर्षको चुनावमा अहिलेको सत्ताधारी गठबन्धनले वृद्धभत्ता बढाएर मासिक पाँच हजार रुपैयाँ पुर्‍याउने बताएको थियो । तर, चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा। युवराज खतिवडाले वृद्धभत्ता बढाएका थिएनन् ।

बरु, ७० वर्षमाथिका वृद्ध नागरिकलाई एक लाखसम्मको उपचार निःशुल्क हुने गरी स्वास्थ्य बिमाको कार्यक्रम घोषणा गरेका थिए । वृद्धभत्ता नबढाएपछि सत्तारूढ दलकै नेताहरूबाट सरकार र अर्थमन्त्रीले आलोचना सहनुपरेको थियो । यसपटक भने अर्थमन्त्री गलेका छन् । यसअघि ०७२/७३ र ०७३/७४ दुवै वर्ष वृद्धभत्ता दोब्बरले बढेको थियो ।

अहिले ७० वर्षभन्दा बढी उमेर पुगेकाले वृद्धभत्ता पाउँदै आएका छन् । कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ६० वर्षदेखि नै वृद्धभत्ता दिने गरिएको छ । विधवाले भने विधवा बनेको दिनदेखि नै भत्ता पाउने गर्छन् । त्यसरी वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको संख्या हाल १२ लाख आठ हजार एक सय ३३ छ ।

त्यस्तै, एकल महिला र विधवाको संख्या ६ लाख ९६ हजार पाँच सय २४ छ । यी सबैलाई सरकारले मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । त्यस्तै, पूर्ण अपांगता भएका व्यक्तिलाई मासिक दुई हजार र आंशिक अपांगता भएकालाई मासिक ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउने गरिएको छ ।

लोपोन्मुख आदिवासी जनजातिलाई मासिक दुई हजार र पिछडिएको क्षेत्रका बालबालिकालाई मासिक चार सयका दरले भत्ता उपलब्ध गराउने गरिएको छ । यस आर्थिक वर्षमा यसरी सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २४ लाख ९८ हजार पाँच सय ३२ छ, जुन गत वर्षको तुलनामा ११ दशमलव ५७ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २२ लाख ३९ हजार तीन सय ६३ थियो । आगामी आर्थिक वर्षमा पनि यही रूपमा संख्या बढ्दा २७ लाख ८७ हजार ६ सय १२ हुन्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  २ : २१ बजे