काठमाडौं जेठ, २०–
म्यानपावर व्यवसायीले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नभए नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो । संघका अध्यक्ष रोहन गुरुङले ३ महिना भित्र पनि आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
संघले गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । सोही कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने बताएका हुन् ।
सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष गुरुङको भनाइ छ ।
वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगारको व्यवस्था गरे पनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेकोमा अध्यक्ष गुरुङले आक्रोश समेत व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले नेपाल वैदेशिक रोजगार संघको वैदेशिक रोजगारमा जान रोकावट गर्ने निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक करिव ७ खर्ब ३३ अर्ब विप्रेषणको आप्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पु¥याइरहेको छ । हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको सरकारी तथ्यांक छ । वैदेशिक रोजगारीमा रहेका नागरिकले पठाएको रेमिट्यान्स पनि मूलुकको अर्थतन्त्रको एउटा मुख्य आधार हो ।










