भक्तपुर-
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीसँगै जोडिएको भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ।
सो पार्टीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा सो जग्गा जिल्ला जनपरिषद् भक्तपुरले कब्जा गरेको हो।
उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ। कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको छ।
अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नभएपछि आफ्नो पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
परिषदरमा उजुरी परिपछि सोही क्षेत्रमा गएर स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलमा महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ।
भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ। जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ।








