मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्न विश्वविद्यालयको भूमिका महत्वपूर्णः राष्ट्रपति भण्डारी



काठमाडौं जेठ, २६–
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन्।

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दीगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रूपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैं शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।

उनले भनिन्, ‘विश्वविद्यालयहरू ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्छ। अहिलेको विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य भएको छ। यस दिशामा त्रिभुवन विश्वविद्यालय अग्रसर हुनुपर्छ।’

शान्ति र सहिष्णुका अग्रदूत गौतम बुद्धको जन्मस्थल रहेको नेपालमा प्राचीनकालदेखि नयाँ खोज र चिन्तनको परम्परा रहेकाले वर्तमान समयमा शिक्षित र चेनतनशील समुदाय थप नवप्रवर्तनका लागि लाग्नुपर्ने जनाउँदै उनले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत् विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताइन्।

उनले विद्यार्थीहरू गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसाँस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने बताइन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ८ : ११ बजे