सडक निर्माणमा सरकारी उदासनिता रहेको भन्दै थलीका स्थानीयद्वारा प्रदर्शन



काठमाडौं जेठ, २८–
सडक निर्माणमा ढिलाइ भएको भन्दै काठमाडौंको थलीमा स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् ।

मंगलबार स्थानीयले सडक निर्माणमा बिलम्व भएको भन्दै गरेको प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुले सडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाले सवारी चल्न रोकेका छन् । युवाको अवरोधपछि उक्त क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।

थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ७ : ३५ बजे