काठमाडौं जेठ, ३०– पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि बिरामीको मृत्यु भएको छ । ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि बिहिबार सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको हो ।
गत शुक्रशार रामप्यारीको पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अस्पताल पुगेकी थिइन् । तर, आज अस्पतालले उनलाई मृतक घोषणा गरेको छ । मृतकका आफन्तले ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको बताएका छन् । बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’ रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।