काठमाडौं जेठ, ३१– प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा जाने भएका छन् । चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार १ गते प्रधानसेनापति थापा चीन जान लागेका हुन् ।
नेपाली सेनाले नेपाल सरकारको निर्णय बमोजिम असार १ गते औपचारिक भ्रमणको लागि प्रधानसेनापति थापाको भ्रमण तय गरिएको हो ।
थपा प्रधानसेनापति नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक चीन भ्रमण जान लागेका हुन् । चीन भ्रमणको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् ।
भ्रमणदल आइतबार एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । असार ७ गते भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापासहितको उच्चस्तरीय भ्रमणदल स्वदेश फर्किने कार्यक्रम रहेको छ ।








