काठमाडौं असार, ३–
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो ।
सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो । तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन । सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो ।
११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका हुन् । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए ।
चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।
‘प्रारम्भिक अनुसन्धानमै नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरेका हौँ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘यसमा अन्य प्रहरीको समेत संलग्नता खोजी गरिरहेका छौँ ।’ स्रोतका अनुसार जिल्लाका तत्कालीन एसपी रमेश थापाको समेत मिलेमतोमा त्यसरी नक्कली चालक खडा गरी मुद्दा चलाइएको आधार भेटिएको छ ।
इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । अन्य प्रहरीको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
दुर्घटनाको मुचुल्कादेखि अभियोजनसम्मको चलखेलमा धेरै प्रहरी संलग्न रहेको स्रोत बताउँछ । दुर्घटनाकै दिन इलाका प्रहरी कार्यालयले चालक बोधराज पाण्डेलाई पक्राउ गरिएको रिपोर्टिङ बेलुका जिल्ला प्रहरी कार्यालय नवलपरासी९पूर्व०मा गरेको थियो । तर, तीन सातापछि भने किसुन चौधरीविरुद्ध मुद्दा दायर भएको थियो ।