काठमाडौं ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले गुठीको महत्व नै बुझ्न नसकेको आरोप लगाएका छन् । महाममन्त्री कोइरालाले सरकारले गुठी विधेयक फिर्ता नलिए सदन चल्न नदिने चेतावनी समेत दिएका छन् । सरकारले गुठी विधेयक ल्याएर जनताको भावनामा कुल्चेको महममन्त्री कोइरालाको आरोप छ ।
महामन्त्री कोइरालाले भने, ‘गुठीलाई यथावत राखेर जानुपर्छ भन्नेमा कांग्रेस छ । विधेयक फिर्ता नभएसम्म संसद चल्न दिदैनौं ।’
गुठीयारहरुको आन्दोलनमा कांग्रेसको पनि सहभागीता रहेको भन्दै महामन्त्री कोइरालाले गुठीयारले गर्ने जुनसुकै आन्दोलनमा पनि ऐक्यवद्धता जनाउने प्रष्ट पारे । सडकमा जाने मन नहुँदा नहुँदै पनि सरकारले सडकमा जान बाध्य पारेको महामन्त्री कोइरालाको भनाइ छ ।
उनले सडकमा जाने गृहकार्य नभइसकेको भए पनि गुठीयारको आन्दोलनबाट सुरुआत हुने बताए ।
बहुमतको सरकारले विकासका काम गर्ला र आफूहरुले प्रमुख प्रतिपक्षीको हैसियतले साथ दिनुपर्छ भन्ने सोचेको भए पनि सरकार काम नगरी चरम बेथितिमा लागेको उनको आरोप छ । महामन्त्री कोइरालाले सरकारकै कारण वाध्य भएर सडकमा जानुपर्ने अवस्था आएको बताए । उनले जनता सुसूचित भइसकेको दावी गर्दै जनताले नै यो सरकारको कामको हिसाब खोज्ने बताए ।
उनले भने, ‘हामी त सडकमा आउनु नै छ । अबको राजनीति सडकबाटै हुनुपर्छ । जनताले साथ दिन्छन् । उनीहरु पनि वाक्क भइसकेका छन् कम्युनिष्ट सरकारबाट ।’