काठमाडौं,
रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका सबै मजदूरको सुरक्षित उद्धार भएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए ।
बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।
नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ। गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ। यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ।