यसकारण आइफा अवार्डको चौतार्फी विरोध



काठमाडौं असार, १६–
भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै आइफा अवार्ड २०१९ का लागि यति ठूलो बजेट विनियोजन गरेपछि विरोधको शृंखला सुरु भएको हो। राष्ट्रिय फिल्म अवार्डसमेत राम्ररी गर्न चासो नदिने सरकारले भारतीय फिल्म अवार्डका लागि रकम विनियोजन गरेपछि नेपाली निर्माता तथा फिल्मकर्मी आक्रोशित भएका हुन्।

‘चलिरहेको नेपाली फिल्म उतारेर भारतीय फिल्म प्रदर्शनका लागि बाटो खुला गर्ने सरकारको यो निर्णयले हामीलाई चकित बनाएको छ’, प्रदर्शनरत चलचित्र जात्रैजात्राका निर्देशक प्रदीप भट्टराईले भने। ‘यो अवार्ड कार्यक्रमले पर्यटन प्रवद्र्धनमा कुनै फाइदा पुर्‍याउँदैन। बरु त्यो बजेटले फिल्म सुटिङका लागि एउटा राम्रो स्टुडियो बनायो भने त्यसले विदेशी फिल्मकर्मीलाई आकर्षित गर्छ। नेपाली कलाकार र प्राविधिकले काम पाउँछन्।’ ‘सगरमाथा र गौतम बुद्धले प्रवद्र्धन गर्न नसकेको नेपालको पर्यटन उद्योग आइफाले कसरी गर्ला रु , सञ्चारकर्मी तथा आरजे रवि श्रेष्ठले भने।

यसअघि बलिउड स्टार सलमान खानको काठमाडौं टुर सुरक्षाको कारण देखाउँदै रोकिएको थियो। बलिउड कलाकारको सुरक्षाको विषयलाई लिएर कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो, अब त झन् पूरै बलिउड ल्याउने रे मजाक गर्नु हुन्छ पाण्डेजी।।।

अवार्ड कार्यक्रमको विरोध भएको होइन, अवार्डलाई लिएर गर्ने खर्चमा अहिले विरोध भइरहेको छ। अवार्ड सरकारी निकायको संग्लनतामा नभई निजी क्षेत्रको सक्रियतामा हुनुपर्ने आवाज उठिरहेको छ। पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले आफ्नो ट्विटमा आइफा नेपालमा हुने कुराको स्वागत गर्दै यसलाई निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन् ‘आइफा नामको फिल्मी समारोह नेपालमा आयोजना होस्। त्यसले नेपालको प्रचार नै हुनेछ। अन्यत्र जस्तै सो समारोह निजी क्षेत्रको लगानी र सक्रियतामा हुनुपर्छ। जनताले तिरेको करबाट ५०औं करोड सरकारी रकम खर्च गर्ने र उडाउने कार्य सर्वथा उपयुक्त हुँदैन।’

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले अवार्ड हुनु स्वागतयोग्य भए पनि सरकारी ढुकुटीको प्रयोग भने मान्य नहुने बताए। उनले भने, ‘नेपाली फिल्म अवार्ड विदेशमा आयोजना गर्दा सहयोग गर्न सकिँदैन भन्ने पर्यटन बोर्ड भारतीय फिल्म अवार्ड नेपालमा आयोजना गर्न तम्सेको देख्दा अचम्म लागेको छ रु ’

अवार्ड अगस्ट अन्तिममा आयोजना हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले बताए।

पहिलो पटक नेपालमा हुन लागेको ‘आइफा अवार्ड’ को कुल लागत एक अर्ब हुने प्रारम्भिक अनुमान छ। भारतका कलाकारको हवाई टिकट, होटल बसाइ, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो खर्च लाग्ने पर्यटन बोर्डले बताएको छ। आइफा प्रतिनिधि र सरकारी अधिकारीबीच अहिले छलफल भइरहेको छ।

उक्त अवार्ड समारोह नेपाली सेनाको मुख्यालयमा हुने बताइएको छ। बलिउडका कलाकारको जमघट काठमाडौंमा रहँदा उनीहरूको सुरक्षाका लागि विशेष योजना बनाउनुपर्ने हुन्छ।

अवार्ड कार्यक्रम काठमाडौंमा गर्ने कि नगर्ने भन्ने विषयमा सरकार लामो समयसम्म अल्मलिरहेको थियो। पछिल्लो पटक प्रधानमन्त्री ओली भारत भ्रमणमा गएलगत्तै कार्यक्रम काठमाडौंमा गर्ने विषय अगाडि बढेको हो। प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्ट्याउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएका थिए।

सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोह पहिलोपटक लन्डनमा आयोजना गरिएको थियो। यसअघिको अवार्ड वितरण कार्यक्रम थाइल्यान्डमा भएको हो।

अवार्ड कार्यक्रममा ६ सयभन्दा धेरै प्रतिनिधि र ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थिति रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। अवार्डमा आउने कलाकार, निर्देशक र अन्य आगन्तुकका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले व्यहोर्ने बताइएको छ। अवार्ड वितरण कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिनेछ भने कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ।

अवार्ड वितरण कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सुरक्षाका लागि सरकारले एउटा कमिटीसमेत बनाएको छ। कमिटीको संयोजकमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा छन्।

कमिटीमा काठमाडौं महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, भ्रमण वर्ष २०२० मा राष्ट्रिय संयोजक सुरज वैद्य, चलचित्र विकास बोर्ड अध्यक्ष, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघको अध्यक्ष, चेम्बर अफ कर्मसको अध्यक्ष, होटल संघका नेपालका अध्यक्ष र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीलगायत छन्।

अवार्डमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहनेछन् भने ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने मन्त्रालयले जनाएको छ।

विजक्राफ्ट इन्टरनेसनल इन्टरटेनमेन्टको अवधारणा आइफा भारतको सबैभन्दा महँगो अवार्ड कार्यक्रममा पर्छ। आइफाले आफ्नो अवार्ड कार्यक्रम बाहिरी देशमा गर्दै आएको छ। कार्यक्रममा एक रातको कार्यक्रम र तीन दिनसम्मको उत्सव मनाइन्छ। कार्यक्रममा भारतीय कलाकारलाई अवार्ड प्रदान गर्नुका साथै विभिन्न नाचगान र अन्य कार्यक्रमको आयोजना गरिन्छ। २००९ देखि नै आइफाका ब्रान्ड एमबास्डर अमिताभ बच्चन हुन्।

प्रकाशित मिति : असार १६, २०७६ सोमबार  २ : ०१ बजे