भक्तपुर । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारीमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजना पक्राउ परेका छन् । छोरी ईश्वरी भट्टराईको घरमा आमा सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो । सोमबार महानगरीय प्रहरी अपराध महाशाखाले हत्यामा संलग्न भएको अभियोगमा मृतककी छोरी ईश्वरी भट्टराईसहित तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् ।
प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको गजुरीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हत्या हुनुको कारण छोरी र उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।
‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अपराध महाशाखाले जनाएको छ ।
ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेकी थिईन् । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।
प्रहरी स्रोत अनुसार उनीहरूलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो । चाँगुनारायण नगरपालिकाको बाँसबारीमा दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको हत्या गरेका थिए ।
प्रहरीले आज मृतककी छोरी ईश्वरी भट्टराई सहित चारैजनालाई सार्वजनिक गरेको छ । प्रहरीले मोहम्मद नौसाद, अर्जुनकुमार भन्ने भोला कुमार, मोहम्मद रहिसलाई आज बिहान सार्वजनिक गरेको हो ।
मृतककी छोरी बाहेकका तीनैजनाले हत्या आरोप स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।