काठ्माण्डौ-
बिबादित इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड आयोजना नगर्न प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि नै प्रष्न उठ्ने भएकोले अवार्ड रोक्न निर्देशन दिएको समितिका एक सदस्यले जानकारी दिए ।
सरकारले उक्त अवार्ड समारोहा नेपालामा गर्ने निर्णय गरेपछी त्यसको खर्च कस्ले बेहोर्ने भन्ने बिषयबाट राजनितिक र नागरिकतहमा बिबाद शुरु भएको थियो ।
अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।
समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए।
यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।
एस्तो छ सरकारलाई समितिको निर्देशन
भारतीय निजी कम्पनी विजक्राप्ट इन्टरनेसनल प्राइभेट लिमिटेडलाई नेपालमा इन्टरनेसनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रम आयोजना गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्याउने रहेको, समग्रमा सो कार्यक्रम नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको तथा सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिबाट उचित नदेखिएकाले, यस्तो कार्यक्रम सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न नेपाल सरकारलाई निर्देशन दिने। साथै नेपाल सरकारसँग यस कार्यक्रमको समग्र र विस्तृत जानकारी आगामी बैठकमा माग गर्ने।










