काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ पम्फा भुसालले लोकसेवा आयोगको विज्ञापनसम्बन्धि सर्वोच्चको आदेशप्रति आपत्ति जनाएकी छिन् । आज राज्य व्यवस्था समितिको बैठकमा नेतृ भुसालले लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्चले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको बताएकी हुन् । उनले सर्वोच्चले दिएको आदेशलाई ‘अर्को १७ साल’को संज्ञा समेत दिईन् ।
नेतृ भुसालले भनिन्, ‘अदालतजति प्रतिगामी कोही पनि छैन, अदालत प्रतिगामी बाटोमा गएको छ, लोकसेवा आयोगको विज्ञापन अगाडि बढाउन दिनु अर्को १७ साल हो ।’पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेकी भुसालले लोकसेवा आयोगको विज्ञापन समावेशी हुनुपर्छ भनेर संसदीय समितिले रोक्न आदेश दिए पनि अदालतको आदेशबाट चुनौती खडा भएको बताएन् ।
‘समावेशिताको विधिको बर्खिलापमा अदालत गयो, यो प्रतिगमनको पराकाष्ठा हो’ उनले भनिन् । स्थानीय तहका विभिन्न ९ हजार १ सय पदमा विज्ञापन आह्वान गर्दा लोकसेवा आयोगले समावेशीतालाई ख्याल नगरेको भनेर निकै विवाद उत्पन्न भएको थियो । यसअघि राज्य व्यवस्था समितिले त्यसलाई रोक्न निर्देशन दिएको थियो ।








