मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली पुर्‍याएर २६ लाख लुट्नेमा प्रहरीकै गिरोह संलग्न



काठमाडौं असार, १९–
एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

चारैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० गोविन्द थपलियाले बताए । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए ।

क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तहरूसँगै क्यानडा आउन भनेपछि रोक्का प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोक्काको विश्वास थियो ।

दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोक्का जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबा टीकाप्रसादले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे ।

उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो ।

देवेन्द्रलाई भने सोही दिन क्यानडाको उडान रहेको भन्दै विमानस्थल पठाइएको थियो । विमानस्थलमा एक व्यक्तिले पासपोर्ट र टिकट दिने भनिएको थियो । बिहान ४ बज्दासमेत कोही नआएपछि उनी होटेल पुगे । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । तत्काल अस्पताल लगे, तर बुबाको साथको पैसा गायब भइसकेको थियो । पैसा लुटेपछि मिर्गौलासमेत निकाल्ने प्रयास गरिएको उनीहरूको आशंका छ ।

भारतमा रहेको सो गिरोहमा आदित्य नाम गरेका भारतीयसमेत थिए । उनको वास्तविक नाम र ठेगाना अहिलेसम्म खुलेको छैन । आदित्य र हरि बराल गिरोहका मुख्य व्यक्ति भएको प्रहरीको अनुमान छ । ‘लुट्नका लागि उनीहरूले त्यसरी नाटक गरिएको देखिन्छ,’ एसपी थपलिया भन्छन्, ‘गिरोहका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।’ सो गिरोहका हरि बराल क्यानडामा रहेको बताइए पनि उनी अन्य देशमा हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी जवान कार्की बरालका आफन्त भएको खुलेको छ ।

पर्शुरामका चार सहयोगी समातिए

थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गर्ने पर्शुराम गुरुङका चार सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । तीन वर्षको प्रयासपछि नेपाल प्रहरीले गुरुङलाई १० जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनलाई विनिता गुरुङ, चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बूले सहयोग गरेकोसमेत खुलेको हो । चारैजनालाई पक्राउ गरिएको सिआइबीका एसपी दीपक रेग्मीले बताए ।

आफू क्यानडाको पिआरहोल्डर भएको र सजिलै क्यानडा लैजान सक्ने भन्दै उनले करिब १३ करोड ठगी गरेका थिए । प्रतिव्यक्ति पाँचदेखि २० लाख रुपैयाँसम्म लिएका थिए । त्यसमध्ये कतिपयलाई थाइल्यान्ड पुर्‍याएर अलपत्र बनाएका थिए ।

पाँच वर्षअघि नै उनीविरुद्ध सिआइबीमा उजुरी परेको थियो, तर प्रहरीले पक्राउ गर्न सकेन । फरार रहेकै अवस्थामा थाइल्यान्डबाट उनले ठगीलाई निरन्तरता थिए । धेरैलाई उनले सामाजिक सञ्जालमार्फत अफर लेटर पठाएर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ । ०७२ मै उनको पासपोर्टसमेत रद्द भएको थियो । एक थाई युवतीको संरक्षणमा उनी थाइल्यान्डको ग्रामीण क्षेत्रमा बसेर आफ्ना सहयोगीमार्फत ठगी गर्दै आएका थिए ।

थाई प्रहरीले पक्राउ गरी उनलाई नेपाल पठाएको हो । प्रहरीबाट जोगिन उनले ३० भन्दा धेरै सिमकार्ड प्रयोग गरेका थिए । उनीविरुद्ध धेरैले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । १५ जनाले भने सिआइबीमा उजुरी दिएका छन् । संगठित अपराध मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  १ : ४६ बजे