अझै दुइ दिन देशभर भारी बर्षा हुने सम्भाबना



काठमाडौँ,
आज देशभर वर्षा भइरेहको छ । अझै दुईतीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एकदुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भने।त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३ ।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : ०७ बजे