काठमाडौं –
बालुवाटारस्थित ललितानिवासको जमिन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँडै मुद्दा दर्ता गर्ने जनाएको छ । विभिन्न व्यक्तिसँगको बयान र अनुसन्धान अन्तिम चरणमा रहेकाले मुद्दा छिट्टै जाने अख्तियार स्रोतले बतायो ।
बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ । यसबीच यो मुद्दामा जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुगेर विभिन्न पटक फैसलासमेत भएको छ ।
सर्वोच्चले समेत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता सदर गर्ने फैसला गरे पनि यो विवाद हाल उच्च अदालत पाटनमा विचाराधीन छ । यही विवाद चलिरहेको अवस्थामा मन्त्रिपरिषद् बैठकले बालुवाटार क्षेत्रको १ सय १३ रोपनी ३ आना ३ पैसा जग्गा सरकारकै नाममा ल्याउने निर्णय गरेको थियो ।
उक्त सरकारी जग्गा ब्यक्तिको नममा पुगेको सञ्चारमाध्यमले सार्वजनिक गरेपछि जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलसहित व्यापारिक घरानासमेत जोडिएका रहस्य खुलेको थियो। यस बिषयले सरकारलाई समेत जनस्तर सम्मनै आलोचित बनाएको थियो ।








