काठमाडौं साउन, ४–
मुलुकको बैदेशिक व्यापार निकै नै निराशापुर्ण देखिएको छ । नेपाल राष्ट्र बैंकले शुुक्रबार सार्वजनिक गरेको ११ महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार यस अवधिमा देशको कुुल वस्तु व्यापार घाटा १७ दशमलव दुुई प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुुगेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५—०७६ को एघार महिनामा कुल वस्तु आयात १७ दसमलव तीन प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दशमलव २६ प्रतिशतले बढेको थियो । आव २०७५—०७६ को ११ महिनामा कुल वस्तु निर्यात १८ दशमलव सात प्रतिशतले बढेर ८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएकोे थियो । गन्तव्यका आधारमा भारततर्फ ३३ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ एक दसमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७ दसमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दसलव छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५ दशमलव एक प्रतिशत, चीनबाट भएको आयात ३० दसमलव सात प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६ दशमलव एक प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएकोे छ ।
आर्थिक वर्ष २०७०—०७६ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १७ दसमलव दुई प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव सात प्रतिशत रहेको थियो ।
२०७६ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक शुन्य दसमलव चार प्रतिशत र आयात मूल्य सूचकांक एक दसमलव नौ प्रतिशतले बढेको छ । २०७५ जेठ महिनामा वार्षिक बिन्दुगत आधारमा चार दशमलव चार प्रतिशतले घटेको व्यापारको शर्त २०७६ जेठ महिनामा शुन्य दशमलव पाँच प्रतिशतले बढेको छ ।
श्रावण ४, २०७६ शनिबार
प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार १ : ५२ बजे








