आमा र म



निबन्ध ,

कृष्णमणि पराजुली-

आज केही कुरा लेख्न मन लाग्यो । तर, के बिषयमा लेख्ने भनेर बिषय पत्ता लगाउन सकिन । आफूले जानेको, बुझेको, पढेका धेरै बिषय भएपनि मन पर्ने बिषय जुराउन सकिन । अनि एक पटक आमाले मलाई भन्नु भएको कुरा संझना आयो, कान्छा तेरो लागि म जे पनि गर्न तयार छु, तैले राम्ररी पढे है । त पिलपिलाउंदो छस्, कमजोर छस्, गरेर खाने तेरो क्षमता छैन, दाई बलियो छ, उ गर्न सक्दछ, बाठो पनि छ । तं भने सोझो छस् । बाठा मान्छेले ठग्न सक्नेछन्, दुःख दिन सक्ने छन्,त्यस कारण तैंले पढ्नु पर्छ । पढ्न सकिस् भने तंलाई कसैले पनि ठग्न सक्दैनन्, जागिर खान पाउनेछस्, पैसा कमाउने छस्, अनि आफूलाई मन परेका कुरा किन्न पाउनेछस् भनेरआमाले भन्नु भएको कुरा स्मृति पटलमा आई पुग्यो । खुशीले मन फुरुंग भयो । के पाईस् अन्धो, आंखा भए जस्तो लाग्यो मलाई । बिषय रोज्न पुगें आमा । आमा मात्र राखेर पनि के लेख्नु । केही कुरा त्यसमा थप गर्न मन लाग्यो । त्यसबेला आमाले मलाई अर्ति दिनु भएको हुंदा मैले केही थप्ने बिचार गरें । र, ’ आमा र म शीर्षक राखें ’ ।

आमा भन्ने शब्द यस्तो रहेछ, जसले बिश्वलाई नै हल्लाई दिंदो रहेछ । आमालाई मन नपराउने सायदै कोही होलान् । मानिस त एक बुध्दिमानी प्राणि हो, उसमा बिचार गर्ने शक्ति हुन्छ, माया हुन्छ, ममता हुन्छ, के गर्न हुन्छ, के गर्न हुंदैन, पाप, धर्म, कर्म धेरै कुरा बुझेको हुन्छ । जान पहिचान गर्न सक्ने खुबी उसमा हुन्छ । मानिस त फेरी बिबेकशील प्राणिनै भयो । तर, पशुमा पनि मानिसको भन्दा बढि स्नेह भएको हामीले देखि आएकै छौं । बच्चा जन्माउने बित्तिकै, आफ्नो बच्चाको संरक्षणको लागि उसले कसैलाई नगिचमा आउन दिएकी हुन्न । प्रशब बेदनाको छटपटी रहदा रहदै पनि आफ्नो बेदनाको कुनै परबाह नगरी आफ्नो नगिजमा आउने जो कोही संग उसले आंट गरी सामना गर्न बांधिएको दाम्लोको बेवास्ता गर्दै मुन्टो ले जोरी खोज्दै तम्सिएकी हुन्छे । यसरी एउटी आमाले आफ्नो सन्तानको रक्षाको लागि ।
पशुको मात्र कुरा होईन पंक्षिको पनि त्यत्तिकै ममता हुंदो रहेछ । हामी आफ्नै संसारमा आनन्द लिन तीर लागेका हुन्छौ । हामीलाई यस्ता कुरा तीर पटक्कै ध्यान जांदो रहेनछ । यदि जांदो होत हामीले पशुपंक्षिलाई अमानबीय ब्यबहार गर्दैनथ्यौ होला । सुरक्षाको लागि रुखको टुप्पामा गुंड बनाएर आफ्ना बचारहरु हुर्काएकी कौवाले के बिगारेकी थिईर ? हामीले किन उसले कति दुःख कस्ट गरेर आफ्ना सन्तान हुर्काउन लामो समय लगाएर सानो चुच्चोमा सकिनसकि झिंगल्टा बोकेर बनाएको घर भत्काउनु? त्यो आमाको मन कति सारो रोयो होला ? आफ्नो मुटुलाई भन्दा बढि प्रेम गरेर , आफैलाई नास गर्ने आंट गरेर, कति हण्डर गरेर हुर्काउंदै र हुर्किदै गरेका बच्चाहरुको नाश भएको देख्दा । ती चरीरुपी आमाको मन कति रोएको हुन्छ होला ? खै हामीले बिचार गर्न सकेको ? आमाले त्यतिबिघ्न माया दिने तर हामी तिनै आमा देखि पर पर हुने ? कस्तो बिरोधाभाष ?

आमाले आफ्ना सन्तानको लागि कति गरेकी हुन्छिन् कति । भनेर र गनेर सकिदैन आमाको माया । गोर्किले लेखेका आमा उपान्यासमा एउटी आमाको भूमिकाले सबै मन्दूरको आमा हुन पुगेकी हुन्छिन् । धरती आमा भन्ने पुस्तकमा पर्लस् यस बकले खडेरी परेर अनिकाल परेको अबस्थामा छातीमा बिउ बिजन लुकाएर राखेर आफ्ना सन्तानको लागि भबिष्यको निमित्त जोहो गरेर राखेको कति कारुणिक कथा छ । यस्ता धेरै कुराहरु हामीले जानेका भए पनि आमाले गरेको स्नेह र बात्सल्य प्रेमलाई भुल्न गई रहेका छौं । हामीले हामीलाईनै धिक्कार्नु पर्ने हुन गएको छ ।

एउटी कबयत्रीले लेखेको कबिताले मलाई बारंबार चसक्क मुटु छुने गर्दछ । त्यो कबिताको एक लाईन मेरो ह्ृदयमा संधनैै रहेको हुन्छ । बिर्सन खोज्दा पनि बिर्सन सकेको हुन्न । कबिताको एक हरफ यस्तो छ । ” यौटा मृत्यु गरें परास्त पहिले आमा बनेको दिन ” । यो कति मार्मिक , भावुक, पिडादायी र आमाको ममताले भरिपूर्ण छ भन्ने कुरा साधारण मानिस जो कोहीले पनि बुझ्न सक्दछ । त्यहि कबितामा अर्को एक हरप पनि त्यत्तिकै मर्मपर्सि छ । जुन यस प्रककार छ । ” रोयो च्यार्र बालक यो मन भयो चंगा उंडेको सरी ”। तर पनि आमा दुःख, पीडा, बेदना प्रति हामी सन्तानहरुले बुझ्न सकेका छैनौ.। मृत्युको केही परबाह नगरी बालक जन्माउन पाउंदाको खुशीे चंगा जस्तो मन भयो भन्ने कति मार्मिक छ आमा बन्नेहरुको बेदना । मलाई याद छ मैले कतै पढेको थिएं एक उपाध्याय बराबर दश जना आचार्य हुन्छन् अरे , अनि दश जना आचार्य बराबर सयजना बाबु हुन्छन् अरे अनि सयजना बाबु बराबर हजार जना आमा हुन्छन् रे । यो उत्तिले पनि आमाको महत्व हामीले बुझ्न सक्नु पर्दछ ।

हामीले आमालाई जति माया गरे पनि आमाले हामीलाई गर्ने माया भन्दा बढि हुनै सक्दैन । यो ठूलो संसारमा भिन्न भिन्न ब्यक्तिको भिन्न भिन्न सोचाई र ब्यबहार हुनु पनि स्वभाभिक हुन्छ, कारण मानिस बिभिन्न अबयबको संयोजन हो । ⁃⁃⁃हो, मलार्ई मेरी आमाले अस्याध्यै माया गर्नु हुन्छ । त्यसैले होला तं सोझो छस्, गरेर खान सक्देनस्, धेरै पढीस् भने, तंलाई सुख हुनेछ भन्ने आमाको अर्ति सधैनै मेरो अन्तर आत्मामा रहीनै रह्यो । आज सम्म पनि मेरो गायत्री मन्त्र भन्दा पनि बढि संझिने गर्छु आमाको यो अर्तिलाई । त्यसैको फलले अहिले सम्म अडिएको छु, एक पेट खान मलाई दुःख छैन । म सोझो भएर बाठाले ठगे पनि मेरो आमाको अर्तिले म बांच्न सकेको छु । मलाई कसैले औलो ठड्याउन सकेका छैनन् । बाठाहरुको टिप्पणी भएको होला । म त्यो बाट मुक्त भएको छु । मेरो मन आकाशमा उंडि रहेको चंगा जस्तै संधै आनन्द छ । सायद बाठाहरुलाई नहुन सक्दछ । बाठाहरुको मनमा कहिले पनि खुशी आएन । संधैनै खुम्चिने मन भयो । तर, मेरी आमाको अर्तिले मेरो मन खुम्चन पाएन । संधैनै फराकिलो हुने अबसर दियो ।

आमाको अर्ति चट्टानी पहाड जस्तो हुंदो रहेछ । संधै अडिन सक्ने, अडान दिने, फुट्न नसक्ने, राप, ताप, घाम, पानी, असीना, बर्षा आदिले केही गर्न नसक्ने । उनी आफ्नो लागि केही होईनन् । केवल अरुको लागि मात्र । आफ्नो शरीरको अंग टुक्रयाएर दिन सक्ने कति महान् हुन् आमा । मेरो मात्र होईन सबैकी आमा ।

आज मैले कलम चलाएको मेरी आमाको चट्टानी अडानलाई लिएर नै हो । मेरो बुबा को बिषयमा मलाई केही थाहा छैन । मेरो जन्म नहुंदै उहांको मृत्यु भैसकेको रहेछ । आजकल पनि मलाई बुढापाकाहरुले गर्भे टुहुरो भनेर भन्ने गरेको सुनेकोछु । मलाई भने टुहुरो अनुभव कहिल्यै भएन । अरुले हेला गर्ने भने छंदै थियो । त्यसैले बुबा भने पनि, दिदी भने पनि दाई भने मेरो लागि सहाराको मूल बाटो भन्नुनै आमा हुनु भयो । बुबाको मृत्य पछि दाईको पनि केही समयमानै मृत्यु भएको रहेछ । दिदीहरुको सानैमा बिबाह भएको हुंदा आमा, म र अर्को दाई ( माहिलो) मात्र थियौं । सानो परिवार तर हाम्रो अन्य बंश कोही नभएको हुंदा ३ जना पात्रहरुको मात्र एउटा सानो संसार थियो ।
कुनै दिन बाहिर साथिहरुसंग खेलेर घर आउंदा आमालाई देखिन भने मलाई खल्लो अनुभव हुन्थ्यो । के नपुगेको हो, के भएको हो, कुनै चीज हराएर नपाएको जस्तो मलाई लाग्थ्यो । म भौतारिंदै आमालाई खोज्दै हिडेको हुन्थें । आमालाई भेटाउंदा म यति खुशी हुन्थेकी आकाशमा देखिने उझ्याला सूर्य, चन्द्र, तारा जस्तो मेरी आमालाई देख्थीं । म यति हर्शित हुन्थेंकि त्यसको सीमानै हुंदैनथ्यो ।

आमासंगको अतीतका भलाखुसारी मेरो सम्झनामा आज सम्म पनि सेलाएका छैनन् । म संधै आमासंगनै सुत्ने गर्दथें । ओछिनमा सुत्दा संधै आमाले मलाई राम्रा राम्रा कथा सुनाउनु हुन्थ्यो । अहिले आएर मलाई थाहा भयो ती कथाहरु पनि मेरो भबिष्य निर्माणका लागि मेरुदण्डनै रहेछन् भन्ने कुरा । रामायण, महाभारत, कृष्ण चरीत्र, देबी भागबत का राम्रा कथाहरुका अंशहरुले पनि मलाई मलजल गरेको मैले अनुभूति गरेको छु । ती कथाहरुले मलाई अनुशासित बनाउन सिकायो । ठगि, फट्याई र झुटको खेती बाट पर रहन सिकायो । अरुको मन जित्न सिकायो । अंधेरो बाटोमा हिड्न सिकायो उज्यालो पाउनको लागि । करीब ६० बर्ष पहिलेको अबस्थामा पनि मेरी आमाले मलाई असल बनाउने जुन मार्गहरु अपनाउनु भयो, त्यो सम्झिदा म नतमस्तक भएको हुन्छु । मैले मेरी आमाको मात्र कुरा गरेको होईन । यहां धेरै आमाहरु हुनुहुन्छ । यहांत मैले मेरी आमालाई प्रतिबिम्बको पात्रको रुपमा मात्र प्रस्तुत गरेको हुं ।

आमा सबैका उस्तै हुन् । आमालाई आफ्नो अर्काको भनेर हेर्न सकिदैन । सबै आमाहरुले आफ्ना सन्तानलाई माया गर्ने दृष्टिकोण एउटै भएको हामीले देखेकै छौं । तर सन्तानले आमालाई हेर्ने दृष्टिकोण भने फरक हुंदो रहेछ । तीर्थ लैजान्छु भनेर बाटोमा अलपत्र पारेर छोडेर जाने, अनाथालयमा छोडिदिने, कुन बुढी हुन्, म चिन्दीन, बिचल्ली परेकी रहिछिन भनेर कुनै आश्रममा पुर्याएका खबर पनि हामी सबैलाई थाहा भएकै छ ।

मेरी आमाले मेरो हरेक चाहना पुर्याई दिनु हुन्थ्यो । बालक अबस्थामा चाहनापो ठूला कहां हुन्थे र । मिठो खाने राम्रो लगाउने यति मात्रत हो । त्यस समयमा केटाकेटीहरुले खुुुसी भएर खाने भनेकै चिनी मिश्री नै हुन् । कसैले दिईहाले भने आफूले नखाई नखाई मलाई ल्याएर सुटुक्क दिनु हन्थ्यो र म पनि लुकेर खान्थें । अरु कसैलाई थाहा हुन्थेन । कतै किनमेल गर्न जांदा पनि चिनी,मिश्री, पिपलमेठ ल्याईदिनु हुन्थ्यो । अरुको काम गर्न जांदा दिएको खाजा पनि आमाको मुख बाट जांदैनथ्यो । मेरो लागि भनेर पटुकामा बांधेर ल्याईदिनु हुन्थ्यो । म खुशी भएर खान्थे ।जंगलमा भेटाएको ऐसेलु पनि नखाई नखाई पातमा पोको पारेर मेरो लागि ल्याई दिनु हुन्थ्यो । यसले गर्दा पनि बाल्य अबस्थामा आमा प्रति मेरो माया बढ्न गयो । आमा घर आउंदा आमाले मेरो लागि के ल्याई दिनु भयो होला भन्ने संधै खुल्दुली लागि रहन्थ्यो । हो, यसरी आमा र म एउटै मुटु र एउटै आत्माका रुपमा रहेका थियौं ।

कुनै पनि आमाको माया आफ्ना सन्तान प्रति उत्तिकै हुन्छ । उनीको ह्ृदयमा तील जत्ति पनि फरक हुंदैन । मेरी आमाले पनि बेला बेलामा अरुहरुलाई सुनाउंदै भन्नु हुन्थ्यो , यी मेरा दुई छोरा चिम्टा जस्ता हुन् । यिनीहरु छुटि भिन्न हुंदा मास गेडी फुटाएर, तील दाना घोटेर अंश लगाई दिन्छु भन्नु हुन्थ्यो । यहां मैले जोड्न खोजेको कुरा के हो भने आमाको आत्माले सबै छोरा छोरीलाई एकै ब्यबहार गरेको हुन्छ भन्नु मात्र हो । तर पनि हाम्रो समाजमा आमाको मन जस्तो अरुको भएको पाईंदैन र हुंदैन पनि । मौका र छिद्र भेटाएमा रगत र बंशको केही अर्थ राख्दैनौ , आफ्नो फाईदाको लागि ।

मलाई जहा सम्म थाहा छ मेरी आमाले मेरो दाईलाई पढाउन गाउंमा बिद्यालय नभएको हुंदा टाढा फुपुको घरमा लानु भएको थियो । कति बर्ष र कति पढ्नु भयो मेरो जानकारीमा भएन । जे होस् आमामा छोराछोरीहरुलाई शिक्षा दिनु पर्छ भन्ने भावना जागरण भएको थियो । त्यस समयमा दाईको सामान्य पढाई लेखाई भएको हुंदा अहिले पनि अरु भन्दा कमी हुनु हुन्न , दिदीहरु पनि सामान्य साक्षर ।

मलाई भने आमाले राम्रो भन्दा पनि असल छोरो बनाउन चाहनु हुन्थ्यो । त्यसैले मलाई उहांले राम्रो बाटो मात्र देखाउनु हुन्थ्यो । अझ सम्म पनि आमाले सिकाउनु भएको कुरा मनमा भिझिनै रहेको छ । आमाको बचनलाईनै मैले शिरोपर गर्दै आएको छु । अहिले मेरो आमा १०० बर्षको हाराहारीमा हुनु हुन्छ । मैले घर छोडेर हिंडेको धेरै बर्ष भयो, जागीरको सिलसिलामा । आमासंगको भेट पातलो हुंदा आमालाई नियाश्रो लागेर कान्छो संग भेट नभएको धेरै भयो भन्ने खबर पाउंदा, म टुप्लुक्क भेट्न पुग्छु । आमा ज्यादै खुशी हुनुहुन्छ र म पनि । अहिलेत म जागिर बाट अबकाश भई सकेको हुंदा आमासंगको भेट अलि बाक्लिंदै गएको छ । यसरी अहिले आएर आमा र मलाई भेट हुने परिस्थिति बाक्लो हुंदै गएको छ । आमा पनि दंग म पनि दंग ।

आमाको मन कति पबित्र र धैर्यशील हुन्छ भन्ने भनी रहनु पर्ने होईन । आमा धरती हुन् । आमा नदी हुन् । आखिरमा आमा सबै चीज हुन् । धरतीले हामीलाई बचाई रहेको छ । फोहोर, गन्ध, आंधि, बेरी, धुलो, मैलो हरेक चीज धरती माताले सहेकी हुन्छीन् । खोला, नदी नाला आदिले पनि त्यसै गरी सहेका हुन्छन् । यिनीहरुले जस्तै तपाई हाम्री सबैकी आमाले हाम्रो लागि कति दुःख कष्ट सहेर हामीलाई हुर्काईन्, बढाईन्, पढाईन् भनी साध्य नै छैन ।

आमाको मन यति पबित्र, यति निष्पक्ष र यति सह्ृदय हुंदो रहेछकी यसको जति ब्याख्या गरे पनि सकिदो रहेनछ । मेरो आफ्नै आमा र दाईको बिच ३ । ४ बर्ष नै बोलचाल बन्द भयो । मलाई भने किन भएन भन्ने बिषयमा पटक्कै थाहा हुन सकेन । आमाको मन त आफ्ना सन्तान प्रति नराम्रो दृष्टि राख्ने तीर त जांनै सक्दैन । यस बिषयमा मैले खोजी नीति गरीन । अरु कसै बाट पनि थाहा पाउन सकिन । मलाई भने आफ्नै आमा छोरा बिच किन यति ठूलो फाटो आयो भन्ने जीज्ञासा भने संधैनै रहि रह्यो । अझ सम्म पनि पत्ता लाग्न सकेको छैन । जे होस आमा र दाई बिच अहिले राम्रो सम्बन्ध छ । तर, मेरो कौतुहल भने मेट्न सकेको छैन ।

मलाई भने यस बिषयले संधैनै पिरोली रह्यो र आंट गरेर आमा संग सोध्ने बिचार गरें । प्रसंग नभई कन सोध्दा आमाको चित्त दुख्ला भनेर सन्दर्भ मिलाएर डराई डराई प्रश्न गरें । आमाले भने किन किन भनी पन्छिनु भयो र जबाफ दिनु भएन । मलाई लाग्छ आमा भनेको सहने समुद्र जरा हो । जसले जस्तो ब्यबहार गरे पनि, भने पनि समुद्र जस्तै संसारको जतिसुकै फोहर भएपनि आफैमा पचाई दिने । अरुलाई फोहोरको हिलो नछ्याप्ने । यहां मैले जोड्न चाहेको कुरा के भने आमाहरुले जति बुध्दिमत्ता पूर्बक न्याय गरेका हुन्छन् , हामी सन्ततीहरुले उनै आमा जस्ले आफ्नो ज्यानलाई कुनै परवाह नगरी जन्माएकी हुन्छीन्, उनै प्रति राम्रो ब्यबहार गरेका हुंदैनौ, किन ?
आमा भन्ने बित्तिकै बाल बच्चा जन्माएकी संग सम्बन्धित रहेको हुन्छ । आमाको भूमिकामा उनी बृध्द पनि भएकी हुन सक्दछिन् । बृध्द भन्ने बित्तिकै हाम्रो मानस पटलमा सामान्यतया सबैले बुझ्ने सरल अर्थ हो बुढोवापाको उमेरको व्यक्ति।

तर,यतिले मात्र पनि समग्रतामा नबुझिने हुनसक्छ। जुनव्यक्तिको आँखाले राम्रोसँग देख्न सकेको हुँदैन, कानले राम्रो सँग सुन्न सकिरहेको हुँदैन, बोलीमा अस्पष्टता आएको हुन्छ, जिब्रोले राम्रो सँग स्वाद लिन सकेको हँदैन, अनुहारमा चाउरीपन बढ्दै गएको हुन्छ, शरीर सुक्दै र कुप्रिँदै गएको हुन्छ, कपाल सेतो हुँदै र झर्दै गएको हुन्छ, शरीरमा रगत कम हुँदै  जान्छ, रक्तकोशिका सुक्दै गई छालाले ठाउँ छोडी तुर्लुङ्ग हुन्छ बृध्दहरुको लक्षण यिनैहुन्।

यसरी सिङ्गो शरीरलाई बचाइराख्न सहयोग पु¥याउने यी आधारहरू कमजोर एवं शिथिल हुँदै गएपछि जीवन धान्ने एकमात्र सहयोगी लौरो हुदोरहेछ। त्यसैले भनिने गरिन्छ ‘प्राणप्रीयायष्टीका’अर्थात्बुढेसकालमा प्राणभन्दा पनि प्यारो लौरो ।मेरी आमाको हातमा लौरो टुटेको हुंदैन ।यो सामान्य अर्थबाट पनि बृध्द नागरिकको शारीरिक अवस्था , कति कष्टकर छ भन्ने सहजै बुझ्न सकिन्छ।

जीवनको उर्व रउमेर तथा शक्ति सबै नै खर्च भइसकेको र उत्तरार्धको अवस्थामा शरीरका सबै अङ्गप्रत्यङ्गले कामगर्न नसकेको अवस्थामा घर, परिवार, समाज, व्यक्तिविशेष, इष्टमित्र, छरछिमेकतथाराज्यसमेतलेपनि बृध्द आमा बुबालाई हेर्नेदृष्टिकोण नकारात्मकनै भएको देखिन्छ। बृध्दहरुलाई आफ्नो शरीरले पीडा दिनु एकप्राकृतिक नियमनै हो भने अर्को तर्फ समाजले पीडा माथि पीडा थप्दै गएको पनि देखिन्छ।

बृध्द आमा बाबुले हामीलाई लगाएको गुन हामीले कति तीर्न सकेका छौं भन्ने तर्फ हाम्रो सोचाई जान सकेको छैन । आमा बाबुले लगाएका गुन र उनीहरुले हामी प्रति गरेका बिभिन्न कष्टकर लगानी सबैनै हामीले र्बििर्सएका पनि छौं । आमा बाबुको सम्पत्तिमा लुछाचुंडि पनि भएकै छ । यहि सम्पत्तिको लागि आमा बाबुलाई भ्रम श्रृजना गरेर एकलौटी बनाएका पनि असंख्य उदाहरण बिद्यमान छन् । जीवन एक चोला सरह हो, किन भ्रमको खेती गरेर धनी हुन पर्यो । झुटको खेती नगरीकन र फट्याई नगरीकन पनि त जीवन चलाउन सकिन्छ नै । त्यसो भए किन आमा बाबुलाई पिडा श्रृजना गरी अन्धकारमय बनाउने ? आफू मात्र धनी भएर, ऐस आराम गरेर बस्नुले केपो अर्थ दिन्छ र यदि आफूले चुसेको लाम्टो र आफ्नै बंशलाई पिडा हुन्छ भने ।

हो, हाम्रो समाजमा धनी हुन चाहने प्रबृत्ति बढ्दै गएको छ । जे गरेर पनि जसरी भए पनि धनीनै हुनु परेको छ । कुनै मगन्तेको झोली पनि लुट्न पुगेकै हुन्छौं, फट्याई गरेर आमा बाबुको जीउने आधार पनि खोसेकै हुन्छौ, सिधा साधाको सम्पत्ति कसरी आफ्नो बनाउन सकिन्छ भनेर षड्यन्त्र पनि गरीनै रहेका छौ । यसरी हाम्रो सामाजिक संरचना स्खःलीत हुंदै गएको छ ।

यहां एउटा प्रसंग मलाई सान्दर्भिक लाग्यो । सम्पत्तिको बिषयमा नयां पत्रिका दैनिकमा लेखिएको एक रोचक प्रसंग , जसको शीर्षक थियो , मृत्यु पछि फाटेको मोजा । जसमा एउटा असाध्यै धनी ब्यापारी रहेछन् । उनको अन्तिम ईच्छा रहेछ मृत्यु पछि उनको गोडामा फाटेको मोजा लगाएर अन्तिम संस्कार गरी दिने । बाबुको मृत्यु पछि बाबुको मोजा लगाउने ईच्छा पुरोहित र अन्य ब्यक्तिहरुलाई सुनाए । सबैले फाटेको मोजा लगाई दिन हुंदैन भनी बिरोध गरे र छोराले बाबुको अन्तिम ईच्छा पुर्याउन सकेनन् । यसै बिच ती धनी ब्यापारिका ओकिल त्यहां आई पुगे र मृतकले लेखेको एक हस्तलिखित कागज छोरालाई दिए । त्यो कागजमा यस्तो लेखिएको थियो — मेरा प्यारा छोरा देख्दै छौनी ? सम्पत्ति, घर जग्गा, गाडि, कलकारखाना हुंदा हुंदै पनि मरे पछि एक जोर फाटेको मोजा पनि लान पाईन्न । एक दिन तिम्रो पनि मृत्यु निश्चित छ । त्यसैले, सचेत रहनु । तिमीले पनि एक सादा सेतो कपडामा बेरिएर जानु पर्नेछ, त्यसमा कुनै गोजी सम्म हुंदैन । त्यसैले , याद राख धन सम्पत्तिको लागि कसैलाई दुःख नदेउ । गलत तरीका बाट धन कमाउने बाटो रोज्दै नरोज । किनकी मृत्यु पछि तिम्रो साथमा सम्पत्ति होईन कर्म मात्र जानेछ ।

माथि उल्लेखित भनाई कति मर्म पर्सि छ , कति मुटु छुने किसिमको छ । जस्तो भए पनि हामीले बुझेर पनि बुझ पचाई राखेका छौ.।
यहां यो माथिको प्रसंग उल्लेख गर्नुको मनसाय हो हामीले दयनीय अबस्थामा भएका आमा बाबुको सम्पत्ति एकलौटी हडपेर कानूनी बैधता बनाएका पनि छौं होला । तर, यस्तो सम्पत्तिलेत केही अर्थ दिंदो रहेनछ । आखिर धनाढ्य ब्यापारीले पनित मगन्तेले पाउने गोजी नभएको ५ हाते सेतो कपडा मात्र त रहेछ । हामीले यस्तै लोभी पापी काम गर्दै गयौं भने हाम्रो मलामी जाने मानिस समेत कोही हुने छैनन् ।
⁃⁃⁃
आमाको माया आफ्ना सन्तान प्रति कति प्रगाढ हुंदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष रुपमा मेरै आंखाले देखेको छु । मेरो घरको नगिचै एउटा अग्लो रुख थियो । त्यो रुखको माथिल्लो भागमा कौवाको गुंड थियो । कौवाले कुखुराको चल्ला खायो भनेरकुखुरा धनीले कौवाको गुंड लथालिंग बनाई दिए । कौवा आफ्नो बचराको बिचल्ली भएको देख्न नसकेर नराम्रो संग रुंदै कराउंदै रुखको माथि माथि भौतारिन थाली र आक्रमणकारीले आफूलाई मारिदिन्छ भन्ने कुनै परबाह नगरी उसै तर्फ आक्रामण गर्न गई । आक्रमणकारी कौवाको डरले घर भित्र भाग्यो । यसरी कौवाले आफ्ना बच्चा प्रति देखाएको स्नेह प्रति म नतमस्तक हुन पुगे र मन मन भन्न पुगे, धन्न रहिछौ, ममता मयी आमा ।
यो घटना भएको केही दिन पछि म त्यहि ठाउंमा बिशेष कामले पुगेको थिएं । मैले यो घटनाको नाली बेली त्यही बसेका बृध्दलाई सुनाएं । कौवाले अघिपछि कसैको ज्यान लिने काम गर्दैन, केवल बच्चालाई हुर्काउने बेलामा मात्र उसले अरुको ज्यान लिएर आफ्नो बच्चाको ज्यान बचाउछ भने । यो सुनेर मैलेत केही पनि बिचारै गर्न सकिन । धन्न रहिछ्यौ आमा, आफू मर्न तयार भएर अरुलाई बचाउनको लागि ।
अनायास म आफ्नो अतीतलाई सम्झन पुग्दछु । मेरो पुरानो ईतिहास मैले आफै अनुभब नगरेको भएपनि म बुझ्ने भएपछि थाहा पाएं । मेरो आमाको अबस्था त्यो गुंड भक्तिएकी कौवा भन्दा कम बियोगान्त थिएन । मेरो बाबुको मृत्यु भएपछि मेरो जन्म भएको रहेछ । कौवाको जसरी एउटा उददण्डले गुंड भत्काएर सबै बचरा भुईंमा झरेर मरेका थिए । त्यसैगरी दैबले मेरो बाबुलाई चटक्क चुडेर लगी दियो र कौवाको बिचल्ली भएको जस्तो मेरी आमाको बिचल्ली भयो । हामी सन्तान कौवाका बच्चा भुईमा झरेर सखाप भए सरह हामी हुन पुग्यौं । यसरी आमा र मेरो जीवन कौवाको छिन्न भिन्न भएको अबस्था जस्तो हुन पुग्यो ।

यस्तो अबस्थामा पनि मेरी आमाले मलाई शिक्षा दिन सफल हुनु भयो । धन्य छ मेरी आमालाई । म आमाको धेरै ऋण खाएको छु । यो जुनीमा तीर्न नसके पनि अर्को जुनीमा तपाईकै छोरो भएर जन्मन पाउं, लथालिंग भएको कौवाको जस्तो जीवन भए पनि होओस् । मलाई त्यहिनै लाख छ । यहि छ मेरो प्रार्थना मेरी प्यारी आमा प्रति । म संधै आमाको अखण्ड स्नेहमा रहन पाउ भनि ’आमा र म ’ को यो आलेखको नामाकरण गरेकोे हुं ।

(लमजुङ् जिल्लाको राईनास नगरपालीका – ७ मा जन्मनुभएका लेखक साहित्यकार कृष्ण मणि पराजुली नेपाल सरकारको अबकाश प्राप्त उप सचिब हुनुहुन्छ ।बिभिन्न समयमा पराजुलीका कृती र लेख रचनाहरु प्रकाशित भएका छन ।)

 

 

प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार  ४ : २९ बजे