मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० महिनामा पनि पूरा भएन तीन सय मिटर सडक



बाँके, १ पुस ।नेपालगञ्ज उपमहानगरपालिका–६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन ।

वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो कहीँ फराकिलो कहीँ साँघुरो भएको छ ।

सडकको छेउमा रहेका विद्यालय र घरभन्दा माथि नाला बनाएकाले पानी घरमा पस्ने जोखिम बढेको छ । करिब तीन वर्षअघिदेखि स्थानीयहरुको असहमतिका कारण सडक निर्माण हुन सकेको थिएन ।

चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सडकको तहभन्दा माथि नाला बनाएपछि स्थानीयले विरोध जताएका थिए । स्थानीयको अवरोधलाई बेवास्ता गरी नाला निर्माण कार्यलाई अगाडि बढाए पनि बाटो करिब दुई सय मिटर मात्र बन्न सकेको छ ।

नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने, कति लामो बन्ने कति चौडाइ बनाउनेलगायतको सूचना उल्लेख गरिएको थिएन । स्थानीयको अनुसार इन्जिनियर, वडा समिति र उपभोक्ता समितिको मिलेमतोमा मापदण्डविपरीत बाटो निर्माण भएको हो ।

स्थानीय विक्रान्त श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेको जानकारी दिए । ‘माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन्छौं,’ उनले भने । करीब तीन सय मिटर सडकमध्ये अब एक मिटर जति बनाउन बाँकी छ । नाला निर्माण भए पनि नालामाथि ढकनी हालिएको छैन । वर्षामा नालाको पानी उल्टो दिशामा बग्ने भएकाले घरमा पानी पुग्छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ३१ बजे