गुल्मी अपडेट : वेपत्ता शव फेला पर्ने क्रम जारी ज्यान गुमाउनेको संख्या १३



गुल्मी-

गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता शव फेला पारेपछि मृतकको संख्या बढेको हो । सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडांै ल्याईएको छ । उनीहरुको टाउकोमा चोट लागेकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले बताइन् ।पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टर राखेर काठमाण्डौ ल्याएका थिए ।
पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ । बुधबार साँझ हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा पुर्‍याइएको हो । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहिबार  ४ : ५६ बजे