आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली कप्तान पारस चम्किए , कुबेतमाथी नेपालको शानदार जित



काठमाडौं ।

सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले कुबेतलाई ७ विकेटले पराजित गरेको छ ।नेपालले कुबेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बल खेल्दै पूरा गरेको हो ।

४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। १३ बलमा २ चौका, १ छक्कासहित ज्ञानेन्द्र मल्ल आउट भएका थिए। शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे।

शनिवारको खेलमा परसले ४२ बलको सामना गर्दै ११ चौका र एक छक्काको सहयोगमा ६८ रन बनाए भने उनी यो प्रतियोगितामा एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान समेत  बनेका छन् ।

पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कुबेतका कप्तान मोहम्मद खासिफले अविजित ४९ रन बनाएका थिए ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिएका थिए । यस्तै, करण केसीले २ तथा अभिनाश बोहराले १ विकेट लिएका थिए । जितसँगै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई नेपालले जिवितै राखेको छ ।

नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो, कुबेत ४ खेलबाट ३ अंकसहित तेस्रो, मलेसिया ३ खेलबाट २ अंकसहित चौथो र कतार ३ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छ ।

नेपालले अब सिंगापुरसँग खेल्नेछ। नेपालले भोलिको खेल जितेमा युएईमा हुने विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ।

 

 

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  ५ : १९ बजे