प्रकाश अधिकारि
काठमाडौं, ११ साउन –
सरकारले बर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ ।
जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनले शनिवारदेखि राजधानीमा आरम्भ भएको “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय सम्मेलनको समुद्घाटन गर्दै दिनुभएको हो । उहाँले नेपाल बर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै भन्नुभयो, “ तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ ।बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौ ।”
मन्त्री पुनले बर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नकालागि सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले देशमा खानेपानीको माग र आपूर्तिमा ठूलो अन्तर देखिएको र हिउँदमा देखिने खानेपानीको संकट टार्नको लागि बर्षातको पानीको संकलन उपयुक्त उपाय भएको पनि बताउनुभयो । उहाँले उचित प्रविधिको विकास र अबलम्बनले बर्षातको पानीको उपयोग सहज बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा धुलिनखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउन प्रयासहरु सुरु भएको बताउदै आकाशे पानी संकलन गर्ने घरघनीलाई सम्पत्तिकरमा १५प्रतिशत छुट दिने नीति लिएको पनि बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनीले नेपालमा पानीको विषय राजनीतिक तहमा अझै एजेण्डा बन्न नसकेको उल्लेख गर्दै भन्नुभयो, “नेपालले एकीकृत पानी व्यवस्थापनका बारेमा सोच्नुपर्ने समय आएको छ ।” उहाँले पानीको समस्या समाधानका बारेमा विश्वमा भैरहेका असल अभ्यासहरुबाट नेपालले सिक्नपर्ने बताउदै भन्नुभयो, “पानी,ऊर्जा र सामग्रीहरुको बारेमा धेरै काम गरेको छ, संसारभर धेरै प्रयोग भएका छन् । हामीलाई सुहाउदो प्रविधि अबलम्बन गर्ने तथा विकास गर्ने कार्यले यो समस्याको समाधान गर्न सकिन्छ ।”
कार्यक्रममा इचोन नेशनल युनिभर्सिटी कोरियाका प्राध्यापक तथा के वाटरका पूर्व कार्यकारी प्रमुख ग्ये, वोन चोले खानेपानीको आपूर्ति अत्यन्त महत्वपूर्ण विषय भएकोले कोरियामा स्वच्छ र शुद्ध खानेपानी सबैको पहुँचमा पुर्याउन प्रयोग भएको स्मार्ट प्रविधि नेपालमा पनि परीक्षणको रुपमा म्याग्दीको बेनी नगरपालिकामा शुरु गरिएको बताउनुभयो । उहाँले काठमाडौं र सिउल महानगरहरुको अवस्था तुलना गर्दै कोरियाको अनुभव काठमाडौंको लागि पनि उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा भारतीय राजदूतावासका डा.अजयले राजदूतावासभित्रका भवनहरुबाट आकाशे पानी संकलन गरी ६ वटा पुनर्भरण प्रणाली स्थापना गरि पानीको स्थानीय स्रोत जोगाउन योगदान पुर्याएको बताउनुभयो ।
कान्तिपथस्थित होटल एल्लो प्योगोडामा भैरहेका दुइदिवसीय सम्मेलनमा बर्षाको पानी संकलन प्रविधिको प्रदर्शनीकक्ष पनि राखिएको छ ।








