जीवन शर्मा
ओखलढुंगा,१७ साउन
गत असार अन्तिम साता परेको अविरल बर्षा संगै गएको बाढी पहिरोले प्रभावित व्यक्तिहरुलाई ओखलढुंगा विपद् व्यवस्थापन समाजले राहत वितरण गरेको छ । असार २६ र २८ गते बाढी र पहिरोबाट घरबास तथा मानविय क्षेत्री वेहोरेका विपद् प्रभावित नागरिकलाई राहत वितरण गरिएको हो । विहिबार जिल्ला दैविक प्रकोप व्यवस्थापन समिति ओखलढुंगाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यको रोहवरमा विपद् व्यवस्थापन समाजले विभिन्न राहत प्याकेज वितरण गरेको छ ।
लाइन्स क्लव अफ काठमाण्डौ ओखलढुंगा र ओखलढुंगा विपद् व्यवस्थापन समाजले विभिन्न निकाय बाट राहत संकलन गरेको थियो । बाढी पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाईप्रति मृतक परिवार रु १० हजारका दरले नगर सहित राहत प्याकेजमा एक बोरा चामल, २ थान पाल उपलब्ध गराइएको ओखलढुंगा विपद् व्यवस्थापन समाजका सदस्य तथा लाइन्स क्लव अफ काठमाण्डौ ओखलढुंगाका सचिव कुमार लुइटेलले जानकारी दिए । त्यस्तै घर बास क्षति वेहोरेका पिडित लाई एक बोरा चामल र २ थान पाल उपलब्ध गराइएको उनले बताए । पिडितहरुले ठुलो क्षती वेहोरेपनि आफुहरुले दुखका वेला सानो सहयोग गरी सम्झीएको लाइन्स क्लव अफ काठमाण्डौ ओखलढुंगाका अध्यक्ष बालकृष्ण दाहालले बताए ।
ओखलढुंगा विपद् व्यवस्थापन समाजका कोषाध्यक्ष बाबुराम श्रेष्ठ, सदस्य बाबुराम गौतम, लाइन्स क्लव अफ काठमाण्डौ ओखलढुंगाका अध्यक्ष बालकृष्ण दाहाल, सचिव कुमार लुइटेल, लगायतको पहलमा विभिन्न निकाय बाट २० बोरा चामल र ३५ थान पाल संकलन गरीएको थियो । पाल शसस्त्र प्रहरी बलले उपलब्ध गराएको बताइएको छ । बाढी पहिरो पिडितहरुले जिल्ला प्रशासन कार्यालय आएर विहिवार नै राहत बुझिसकेका छन् । राहत बुझ्नेहरुमा विभिन्न स्थानीय तहका ५ जना मृतकका परिवार र ११ जना घरबास गुमाएका गरी १६ जना रहेका छन् ।
असार २८ को पहिरोमा परि ज्यान गुमाउनेहरुमा मोलुङ गाउपालिका ७ का पुटी शेर्पा,याङजी शेर्पा, सिद्धिचरण नगरपालिका ६ का कान्छीमाया श्रेष्ठ,चिशंखुगढी गाउपालिका ४ का पासाङपुटी शेर्पा र शुनकोशी गाउपालिका ४ का कुमार राई रहेका छन् । प्रति मृतक परिवारलाई यस अघि पूर्व सांसद रामहरी खतिवडाबाट १० हजार, पुष्पलाल स्मृति विपद्कोष बाट २५ हजार, उद्योग बाणिज्य संघ ओखलढुंगा बाट ३ हजार र जिल्ला विपद् व्यवस्थापन समिति बाट १० हजारका दरले आर्थिक सहयोग गरिसकेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप व्यवस्थापन समितिका अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।
उनिहरुलाइ हाल सम्म प्रति व्यक्ति ५८ हजार राहत सहयोग भैसकेको र जिल्ला विपद् कोष बाट प्राप्त हुने १ लाख तथा प्रदेश सरकाबाट २ लाख दिने निर्णय भएरअनुसार विवरण पठाइसकिएको । आचार्यले जानकारी दिए । पिडितलाई राहत वितरण गर्न आउने जुनसुकै निकायलाई स्वागत गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत एकद्धार प्रणलीको व्यवस्था गरिएको उनले बताए ।










