प्रधानमन्त्री ओली स्वदेश फर्किए



काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्यपरिक्षण गरी सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते सिङ्गापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, लगायतले स्वागत गरेका थिए ।

स्वास्थ्यबारे जानकारी दिनुपर्‍यो भनेर पत्रकारहरूले आग्रह गर्दा पनि ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् । उनले भने ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  ९ : ४१ बजे