पोखरा–
पोखराको न्युरोडमा मंगलबार दिउँसो एस मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।
आगलागीमा परी ३२ सटर जलेर खरानी भएका छन् । दिउँसो करिब ४ बजेर ३० मिनेट जाँदा सुरु भएको आगो ५ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मिनी मार्केटको ३२ वटा सटर ७ जनाले भाडामा लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । मिनी मार्केटका घरधनी यदुनाथ अधिकारी रहेको उनले बताए । आगलागीबाट मिनी मार्केटभित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिव शक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामान निकालेर सडकमै राखिएका थिए।
मिनी मार्केट भाडामा लिने मध्ये अशोक बम्जन, बबिता खाना घर, लिलाधर र ध्रुबबहादुर थापा गरि ४ जनाको मात्र परिचय खुल्न गएको उनले जानकारी दिए । विद्युतीय तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले जनाए । आगलागीबाट भएको आर्थिक क्षति भने अझै खुल्न सकेको छैन ।।’
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली साथै स्थानीय पनि खटिएका थिए । आगलागी नियन्त्रणका लागि ४ दमकल र खानेपानीका ट्याङ्कर प्रयोग गरिएको थियो ।








