चितवन, ३१ साउन
आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत लगेको छ । आज बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लगेको हो ।
चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन तीनै जनालाई अदालत लगिएको जानकारी दिए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
यसै बिच पक्राउ परेका पत्रकार रवि लामिछानेलाई विनासर्त रिहाई गर्नु पर्ने माग गर्दै उनका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर परिसरमा अहिले रविका समर्थकहरुको भीड लागेको छ । सयाै समर्थकहरुले गरेकाे प्रदर्शनमा रबि निर्दाेष रहेकाे र उनलाई ससम्मान रिहा गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय गेटअगाडि समर्थक जम्मा हुने क्रम जारी रहेकाे छ ।
बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरेर राति १ बजे चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर पुर्याइएका रवि लामिछाने, युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्ने प्रहरीको तयारी छ ।
अहिले लामिछानेसहित तीनै जानालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुलाई रवि लामिछानेकी पत्नी निकिता पौडेल र अधिवक्ता सुनिल पोख्रेलले भेट गरेका छन् । अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेकाे चितवन प्रहरीले जनाएकाे छ
लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी बिहीबार राति चितवन ल्याएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्याइएको थियो।








