रोल्पा-
उपराष्ट्रपति नन्दबहादुर पुनको गृहवडामा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं २ राँसीको वडा कार्यालयमा बम विस्फोट भएको हो। विस्फोटवाट कार्यालयको ढोका जलेर सामान्य क्षति भएको बताइएको छ।
राति १२ः३० बजे भएको विस्फोटले स्थानीयहरु त्रसित भएका छन्। बाल्टिन बम प्रयोग गरि कार्यालयको चारवटै ढोकामा जुटको बोरामा डिजेल राखेर आगजनीको प्रयास गरिएको बताइएको छ। बम विस्फोटपछि वडा कार्यालयमा आगलागी समेत हुन थालेपछि स्थानीयहरुले आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताए। ुकार्यालय ध्वस्त बनाउने उद्देश्यले विस्फोट तथा आगजनी गरिए पनि स्थानीयको सहयोगले आगो नियन्त्रणमा लिँदा थप क्षति हुन पाएन, अध्यक्ष बुढाले भने।
घटना भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ओवाङको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटना कसले कुन उद्देश्यले गरायो भन्ने अहिलेसम्म खुल्न नसकेको बताइएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिसट पार्टीले देशका विभिन्न जिल्लामा रहेका वडा कार्यालयहरुमा यस प्रकारको घटना गराएकाले उक्त घटना पनि सोही पार्टीले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे वडाध्यक्ष हरिप्रसाद बुढाले प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका हुन्। विज्ञप्तिमा अध्यक्ष बुढाले स्थानीयको प्रयासले आगजनीको ठूलो घटना हुनबाट जोगिएको बताएका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न पनि उनले माग गरेका छन्।








