सोम दियाली, सर्लाही-
फौजी किराले मकैबाली नष्ट गर्न थालेपछि सर्लाहीका मकैकिसान चिन्तित भएका छन । एक साता अघि देखि अमेरिकन फौजी किराले बरहथवा नगरपालिकाको हजरिया, बागमती नगरपालिकाको राजघाट र हरिवन नगरपालिकाको नयाँरोड क्षेत्रमा सयौं हेक्टर जमिनमा लगाईएको मकैबाली नष्ट गर्न थाले पछि मकै किसान चिन्तामा परेका हुन् ।
अत्याधिक मकै उत्पादन हुने सर्लाहीको हजरिया र राजघाटमा अहिलेस्म फौजी किराले करिव १२ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको हाइब्रिड जातको मकै खाएर सखाप पारेको बरहथवा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रत्नबहादुर गिरीले बताउनु भयो । त्यस क्षेत्रमा दिनदिनै किराको प्रकोप बढ्दै जान थाले पछि बिहिबार बरहथवा नगरपालिकाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रविधिक र बरहथवा नगरपालिका अन्तर्गत कृषि शाखाका टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेका छन ।
फौजी किरा प्रभावित क्षेत्रमा किसानलाइ डेलटा मेथरिन नामको विषादि एक लिटर पानीमा तीन ग्राम मिलार छर्कन सुझाव दिएको वरहथवा नगरपालिका कृषि शाखा प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो । फौजी किराले मकै बाली सखाप पर्न थालेपछि स्थानीय किसानले नगरपालिकासँग तत्कालै किरा नियन्त्रणको लागि किटनाशक औषधि माग गरेका छन। हजरियाका मकै किसान सुनिता खड्का भन्नुहुन्छ एक बिघा खेतमा रोपेको मकै सबै किराले खाइसक्यो, पाँचसय रुपैयाको बिउ,जोताइ रोपाइ सबै खेर गयो, अब कसरी ऋण तिर्नु भन्ने चिन्तापो लाग्न थल्यो ।
फौजी किरा प्रभावित बरहथवा नगरपालिका,बागमती नगरपालिका र हरिवन नगरपालिकमा एक हजार पोकाको दरले किटनाशक औषधि पठाइसकेको कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवान्नद रायले जानकारी दिनुभयो। फौजी किराले रातको समयमा बालीलाइ बढी क्षति पर्याउने भएकाले विषादि छर्कर्दा उज्यालो बालेर रातको समयमा छर्कन उहाले किसानलाइ सुझाव दिनुभयो । रातका समयमा सक्रिय हुने फौजी किराले मकैको पातबाट खान सुरू गरेर पुरै मकैको बोट खाइसक्ने किसान चन्द्रप्रसाद वाग्लेले बताउनुभयो । फौजी किरा मेटासिट नामक विषादि हाल्दा समेत नियन्त्रणमा नआएको किसानको भनाई छ ।










