काठमाडौं –
दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।
निगमले अहिलेसम्म इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आयात गर्ने पेट्रोलियम पदार्थ ट्यांकरमा ल्याउँछ।
त्यस दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि पाइपबाट नियमित डिजेल ल्याउने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। उनका अनुसार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकसाथ पाइप लाइन उद्घाटन गर्ने कार्यक्रम छ। ‘दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने समय निर्धारण भएको छ,’ गोइतले भने, ‘भदौ २४ गतेबाट पाइपबाट डिजेल आयात हुन्छ।’










