खाँदबारी-
खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटनामा परेको छ ।
उक्त जिप दुर्घटनामा परी एकै परिवारका तीन सहित कम्तीमा छ जना बेपत्ता भएका छन् ।धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।
खाँदबारीबाट राति नै प्रहरीको टोली उद्दारका लागी परिचालन गरिएको भए पनि केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलमा पुगिसकेका छन् ।








