अनावश्यक मूल्यवृद्धि गरे कार्बाही : मन्त्री यादव



काठमाडौँ,
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले दशैँको मुखमा  अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गरे । दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपैयाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपैयाँसम्म पुगेको छ ।

मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्र्याइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताएका छन् । उनले विगतका वर्षहरूभन्दा यस वर्ष बजार अनुगमन झनै तीव्र बनाइएको दाबी गरे । उनले भने, “अनुगमनको परम्परागत शैली परिवर्तन भएको छ, संयन्त्र सक्रिय छ ।” पत्रकार सम्मेलनमा मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको अनुगमनको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले विवरणअनुसार असोजमा मात्रै ९१ वटा अनुगमन गरिएकोमा ३० वटा व्यापारिक फार्मसित स्पष्टीकरण माग गरिएको जनाएको छ । २५ वटा व्यापारिक प्रतिष्ठानलाई छ लाख ३० हजार रुपियाँ जरिवाना तिराइएको छ ।

तीन महिनामा कुल ४०१ अनुगमन गरिएकोमा १७४ लाई जरिवाना गरी २४ लाख ४७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ । दोषी ठहर भएका ४५ वटा व्यापारिक प्रतिष्ठानको सिलबन्दी र रोक्का गरिएको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  ५ : ४५ बजे