काठमाडौँ, २८ असोज :
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकी छन ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरेकी हुन ।
राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन ।
सङ्घका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निभाउने बताए।
कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताए।
सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवार घोषणा गरेका छन । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ ।








