मौसम बदलिदै : उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना



काठमाडौं –

जल तथा मौसम पूर्वानुमान महाशाखाले अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको समितिले जनाएको छ ।

पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।शुक्रबार दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी उच्च हिमाल िभुभागमा हल्का हिमपातको संभावना रहेको छ।

राति देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। राति देशको पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।कार्तिक१० गते आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार  ७ : ०५ बजे