हिमाली भेगमा हिमपात शुरु : जनजीवन प्रभावित



न्यू सञ्चार, काठ्माण्डौ-

बाजुरा हुम्ला लगायत उच्च पहाडी तथा हिमाली जिल्लाहरुमाका उच्च हिमाली भेगमा हिमपात शुरु भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ।

असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन्। पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए।

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ। बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन्। बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ।

तेस्तै गता राति देखि हुम्लामा पनि हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिइन्। सिमकोटमा यसपालि पहिलो हिमपात हो। हिमपात शुक्रबार बिहान पनि जारी रहेको छ।

हिमपात भएपछि बिहानको तापक्रम पनि माईनस तीन डिग्री पुगेको छ। चिसो भने बिहीबार दिउसैबाट बढेको थियो। हिमपात पछि हिमाल पारीको लिमी र चाला गाउँमा आवत जावत कठिन भएको छ।

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  ६ : २६ बजे