मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठट्टा–मजाक बन्यो त्रिवि उपकुलपतिको प्रतिबद्धता



काठमाडां । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले फेरि भागवण्डाको राजनीति शुरू गर्नुभएको छ। करिब डेढ महिनाअघि उपकुलपति नियुक्त हुनुभएका प्राडा बास्कोटाले केही दिनअघि पूर्वएमाले निकट दुई जनालाई उच्च पदमा नियुक्ति गरेर आफ्नो प्रतिबद्धतालाई मजाक बनाउनुभएको छ।

पूर्वएमालेको कोटाबाट उपकुलपतिमा नियुक्त हुनुभएका प्राडा बास्कोटाले पद बहाली भएकै दिन आफूले कुनै पनि राजनीतिक भागवण्डा नगर्ने र त्रिविलाई स्वतन्त्ररूपमा सञ्चालन गर्ने बताउनुभएको थियो। तर, त्यसविपरीत पोखरास्थित वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डीनमा ताराकान्त भुसाललाई नियुक्त गर्नुभएको छ।

अघिल्ला उपकुपति प्राडा तीर्थराज खनियाको बाटो पछ्याउँदै उहाँले दुवै जनालाई तीनमहिने जिम्मेवारी दिनुभएको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले तीनमहिने नियुक्ति दिन नमिल्ने भएपछि उपकुलपति प्राडा बास्कोटा आफैले अधिकार प्रयोग गरी खुसुक्क नियुक्ति गर्नुभएको हो। आफूलाई स्वच्छ भएको दाबी गर्दै हिँड्ने बास्कोटा आफ्नो नियुक्तिको छोटो समयमै आलोचित हुनुभएको छ।

‘अब ललितपुरस्थित पाटन संयुक्त, वीरगन्जस्थित ठाकुरराम बहुमुखी र सुर्खेत शिक्षा क्याम्पसका खाली हुन लागेको क्याम्पस प्रमुखमा पनि आफ्नो पार्टी निकटलाई नियुक्ति गर्ने तयारीमा हुनुहुन्छ।’ –उहाँकै कार्यालयका एक उच्च अधिकारीले जानकारी गराए।

‘उहाँले बिदा हुने तयारीमा रहनुभएका रेक्टर प्राडा सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीसँंग सल्लाह नै नगरी नियुक्ति दिनुभएको’, सो स्रोतले बतायो– ‘भोलि पुस ७ गतेदेखि रिक्त हुन लागेको रजिस्ट्रार र रेक्टर पदमा भागवण्डाको राजनीति शुरू हुन थालेको छ।

त्रिविका कुलपति एवं प्रधानमन्त्रीसँंग छलफल गरी दुई पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ। मिलेर जाने राणनीतिअनुसार रेक्टरमा नेपाली कांग्रेसनिकट प्राध्यापकलाई ल्याउने तयारी छ। त्यस्तै रजिस्ट्रारमा भने हालका रजिस्ट्रार डिल्ली उप्रेतीलाई नै दोहोर्याउने सम्भावना रहेको छ।

स्रोतका अनुसार रजिस्ट्रारका लागि त्रिविअन्तर्गत सञ्चालित उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीलाई दिने तयारी भइरहेको छ। प्राडा रेक्टर सुधा त्रिपाठी भने रेक्टरमा नदोहोरिने हुनुभएको छ।

दुई पदाधिकारी नियुक्त भएपछि मात्रै आफ्नो योजना सार्वजनिक गर्ने तयारीमा रहनुभएका उपकुलपति बास्कोटाले त्रिविको खाका तयारी गरिरहनुभएको छ।

बास्कोटासँग भेट गर्न आउने अधिकांश अधिकारीलाई दुई नयाँ पदाधिकारी आएपछि मात्रै नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै आउनुभएको छ।

प्रवक्ता राख्छु अनि सोध्नुस् : उपकुलपति

उपकुलपति प्राडा बास्कोटाले त्रिविमा भएको तीनमहिने नियुक्ति र भागवण्डाको विषयमा जानकारी लिन खोज्दा ‘म अहिले केही बोल्दिनँ’ भन्नुभयो।

उहाँले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘म कतिसंँग बोलुँ, कतिलाई उत्तर दिउँ, अहिले केही बोल्दिनँ, प्रवक्ता राख्छु उहाँलाई सोध्नुस्।’

त्रिविले हालसम्म कसैलाई पनि प्रवक्ताको जिम्मेवारी दिएको छैन। ‘भएका सूचना शाखालाई समेत कुनै सूचना नदिएर सबै सूचना गोप्य राख्नुहुन्छ।’ –उच्च अधिकारीले बताए। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : २० बजे