मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख निर्वाचन अन्योलमा, शीर्ष नेतृत्वमा सहमति जुटेन



काठमाडौं । सभामुख निर्वाचन मिति तय गर्ने गरी शुक्रबार प्रतिनिधिसभा बैठक बस्न लागे पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएका कारण अन्योल बढेको छ। उनले बिहीबारसम्म राजीनामा नदिएका कारण सभामुख निर्वाचन मितिसमेत धकेलिने सम्भावना उत्तिकै छ। एकातिर सभामुख कसलाई बनाउने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वमा सहमति जुटिसकेको छैन भने अर्कोतिर उपसभामुख तुम्बाहाम्फेले समेत राजीनामा दिन इन्कार गरिरहेका कारण सभामुख चयन अन्योलमा पर्ने देखिएको हो।

तुम्बाहाम्फेले सदनको बैठक सञ्चालन गरेर सभामुख निर्वाचन मिति तोकेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख नेकपाको कायमै भएकाले सभामुखमा उसले दाबी गर्न नपाउने संविधानको व्यवस्थालाई उठान गर्ने निश्चित छ। संवैधानिक व्यवस्थाबमोजिम सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ। त्यसैले पनि नेकपाले सभामुख पद लिने भएपछि सभामुखको निर्वाचन कार्यक्रम तयार गर्नुअघि उपसभामुखले राजीनामा दिनुपर्छ। सभामुखमा नेकपाले उमेदवारी दिन उसको कोटाबाट उपसभामुख भएकी तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ। उपसभामुखले राजीनामा नदिएमा शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मिति तोक्ने कार्य पर सर्ने सम्भावना रहेको संसद् सचिवालय स्रोतको दाबी छ। तर, शुक्रबार तुम्बाहाम्फेले राजीनामा दिइन् भने सभामुख निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुख तुम्बाहाम्फेले राजीनामाको विषयमा केही बताउन नचाहे पनि शुक्रबार प्रतिािधिसभा बैठक बस्ने र सो बैठकले सभामुख निर्वाचन मिति तोक्ने बताएकी छन्।

उपसभामुखले राजीनामा गरेको अवस्थामा शुक्रबारको प्रतिनिधिसभा बैठक ज्येष्ठ सदस्यले चलाउनुपर्नेछ। संसद् नियमावलीको व्यवस्थाबमोजिम उपसभामुखले दिएको राजीनामा बैठकमा ज्येष्ठ सदस्यले पढेर सुनाउनुपर्ने व्यवस्था छ। अहिलेको संसद्मा ज्येष्ठ सदस्यका रुपमा राजपाका नेता महन्थ ठाकुरलाई मानिएको छ। उनलाई सदन सञ्चालन गर्ने विषयमा बिहीबारसम्म कसैले पनि जानकारी दिएको छैन। उनले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आयो भने राष्ट्रपतिसमक्ष शपथग्रहण गर्नुपर्ने हुन्छ। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएकै कारण पुस ४ गते बसेको बैठकमा सभामुखको निर्वाचन मिति तोक्ने काम नभएको हो।

नेकपाभित्र नयाँ सभामुख कसलाई बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन। पार्टी एकीकरण भए पनि नेकपाभित्रको तत्कालीन माओवादी केन्द्र खेमाले सभामुख आफू निकटले पाउनुपर्ने अडान राख्दै आएको छ भने प्रधानमन्त्री केपी ओलीसहित तत्कालीन एमाले सुवासचन्द्र नेम्बाङलाई सभामुख अघि सार्ने तयारीमा छ। तत्कालीन सभामुख नेम्बाङलाई बनाउने कि माओवादी खेमाका कुनै नेतालाई बनाउने विषयमा छलफल केन्द्रित हुन पुगेको छ।

यसैबीच उपसभामुख कुनै पार्टीको नभएकाले उनले नै सभामुखको निर्वाचन गराउने कुरामा पनि छलफल हुनुपर्ने भन्दै नेकपाका दोस्रो तहका नेताले शीर्ष नेतृत्वलाई दबाब दिन थालेका छन्। प्रतिपक्षी कांग्रेसले फरक दलको सभामुख हुनुपर्ने अडान राखे पनि उपसभामुखले पार्टी सदस्यबाट राजीनामा गरिसकेको जिकिर गर्दै सभामुख पदमा पार्टीकै नेतालाई उम्मेदवार बनाउने विषयमा पनि छलफल अघि बढेको स्रोतको दाबी छ। यसलाई आधार बनाएर सत्तारुढ नेकपा अघि बढे नयाँ सभामुखको विषय अदालतसम्म पुग्नसक्ने विश्लेषण गर्न थालिएको छ।

संसद् सचिवालयले शुक्रबारको बस्ने प्रतिनिधिसभा बैठकले सभामुखको निर्वाचन मिति र निर्वाचन अधिकृत तोक्ने, शनिबार उम्मेदवारी दर्ता र १४ गते निर्वाचन कार्यतालिका तयार गरेको छ। शुक्रबारको बैठक सहज रुपमा सञ्चालन भए १४ गते सभामुखको निर्वाचन हुनेछ। संसद् सचिवालयले शुक्रबारको बैठकका लागि सभामुख निर्वाचन मिति तोक्ने र संवैधानिक आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तयार गरेको छ।

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुखबाट कृष्णबहादुर महराले असोज १३ गते राजीनामा दिएका थिए।
नागकि दैनिकबाट

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : १६ बजे