मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले भने: ‘गोकर्ण रिसोर्टको म्याद थप कानुनसम्मत’



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्ट मातहत रहेको गोकर्ण रिसोर्ट र त्यसले चर्चेको जग्गा यति समूहलाई थप २५ वर्षका लागि लिजमा दिने सरकारको निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

सत्तारूढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा शनिबार यति समूहको लिज अवधि ५ वर्ष ८ महिना बाँकी छँदै थप गर्ने ‘विवादास्पद’ निर्णयको बचाउ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर लिज अवधि थपिएको दाबीसमेत गरे । ‘पहिला हचुवाको भरमा मूल्य राखेर कौडीको भाउमा लिजमा दिने प्रवृत्ति थियो । अहिले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर मूल्य तोकी लिजको अवधि थपिएको हो, त्यो निर्णय कानुनसम्मत छ,’ उनले भने । उनले लिजमा लिने संस्थाले गोकर्ण रिसोर्टमा थप केही संरचना बनाउन समय लाग्ने भएकाले पहिले नै समय थपिएको बताए । ‘अवधि बाँकी रहँदै कि सरकारले गोकर्ण रिसोर्ट नचलाउने भन्नुपर्‍यो, कि अरू केही गर्नुपर्‍यो । जब लिजमा लिएकाले थप प्रगति गर्छु, आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने म्याद थप नपाउने भन्ने हुँदैन,’ उनले भने । उनले पहिले नै म्याद थप नगर्दा लिजमा लिने संस्थाले संरचना निर्माण गर्न नसक्ने दाबी गरे । ‘बैंकबाट ऋण लिनुपर्‍यो । निर्माण गरेर सञ्चालन गर्नुपर्‍यो,’ उनले भने, ‘केही वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय बाँकी छँदै लिज अवधि थप्नु अनुचित होइन ।’

सरकारले गोकर्ण रिसोर्ट र त्यसले चर्चेको २ हजार ७ सय ९३ रोपनी जग्गा थप २५ वर्ष यति समूहलाई लिजमा सञ्चालन गर्न दिएको हो । बिनाप्रतिस्पर्धा सोझै र कम भाडामा लिजमा दिएको भनेर सरकारको चौतर्फी विरोध भइराखेको छ ।

प्रधानमन्त्री ओलीले अघिल्ला सरकारका पालामा नेपाल ट्रस्टको जमिन र अरू सार्वजनिक सम्पत्ति लिजमा दिँदा घोटाला भएको दाबी गर्दै त्यसमाथि छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारका पालामा यति समूहलाई ट्रस्टको कालीमाटीस्थित जग्गा र सगरमाथा निकुञ्जको जग्गा लिजमा दिइएको उल्लेख गर्दै ती निर्णयसमेत आफ्नो सरकारको पालामा भएको भनेर विरोध भइरहेकामा आपत्ति जनाए । ती लिजको निर्णयमा घोटाला भएको जिकिर गर्दै उनले छानबिन गरिछाड्ने बताएका हुन् । ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो तर अहिलेको सरकार कमिसनखोर होइन, जग्गा लिजमा दिने ती निर्णयमाथि छानबिन हुन्छ,’ उनले भने ।

ओलीको नेतृत्वमा सरकार गठन हुनासाथ मन्त्रिपरिषद्ले देउवाको काम चलाउ सरकारका पालामा भएका अधिकतर निर्णय बदर गरेको थियो । कालीमाटीस्थित ट्रस्टको जग्गा र सगरमाथा निकुञ्जको जग्गा यति समूहलाई लिजमा दिने देउवा सरकारको निर्णय भने यथावत् राखिएको थियो । देउवा सरकारको दीर्घकालीन प्रभाव पार्ने लिजको निर्णय नचलाई नयाँ नियुक्ति र सरुवा बढुवाजस्ता सामान्य निर्णय मात्र ओली सरकारले बदर गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा असाधारण र विपक्षीको मन पोल्ने गरी काम भएको दाबी गरे । उनले आफूले नेपालमा पानीजहाज चलाउनुपर्छ भनेर योजना बनाउँदा पनि उडाइएको र विरोधीहरूले त अझै नदीमा पनि कतै पानीजहाज चल्छ भनेर आलोचनासमेत गरेको बताए । ‘एकाथरीले मलाई उडाउन कागजको पानीजहाज नै बनाएका थिए, अर्काथरीले पानीजहाज नै बनाएर देखाइदिएका छन्, छिट्टै नारायणी नदीमा पानीजहाज चल्दै छ । अब मजाक गर्नेहरू आश्चर्यचकित हुनेछन्,’ उनले भने ।

ओलीले आफ्नै पार्टीका नेता भीम रावलप्रति संकेत गर्दै आफ्नो दलको सरकारको विरोधमा मात्र बोल्नेहरू कुण्ठाले ग्रस्त रहेको टिप्पणी गरे । उनले गलत नीति, व्यवहार वा आन्दोलनलाई कमजोर पारेको भए पार्टीका नेताहरूले आलोचना गर्नु स्वाभाविक हुने तर राम्रा कामको समेत विरोध भइरहेको बताए । ‘विरोधीहरूले सिधा आँखाले हेर्न नसक्ने गरी पार्टी र आन्दोलनलाई बलियो बनाउँदा पनि आलोचना गर्नु विरोधका लागि विरोधमात्र हो,’ उनले भने ।

उनले राष्ट्रिय सभामा नेकपाले दुई सदस्य जित्ने ग्यारेन्टी गर्न राष्ट्रिय जनता पार्टीसँग सहमति गर्दा पार्टीकै एकथरी नेताले रोइकराइ गरेको र त्यस्तो विरोध आपत्तिजनक रहेको बताए । ‘बालुवाटारबाट कालो धूवाँको मुस्लो निस्कियो रे ।।।’ कविहरू पनि नयाँ नयाँ खालका निस्किएका छन् । अचम्म अचम्मका कविता,’ उनले भने । नेता रावलले बालुवाटारमा राजपासित सुटुक्क सहमति गरेकामा विरोध गर्दै नेकपाको स्थायी कमिटी बैठकमा कविता सुनाएका थिए ।

ओलीले पार्टीकै केही नेताले आफैं सवार डुंगामा प्वाल पार्ने असफल प्रयास गरिरहेको बताए । ‘जसले प्वाल पार्न खोजे पनि डुंगामा प्वाल पार्न दिंदैनौं । जसले डुबाउन खोजे पनि डुंगा डुब्दैन,’ उनले भने ।

मिडिया बुर्जुवाको हातमा छ : दाहाल
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया बुर्जुवा वर्गको हातमा रहेको दाबी गर्दै त्यसप्रति सिंगो पार्टी पंक्ति सजग हुनुपर्ने बताएका छन् । उनले परिवर्तनलाई उल्ट्याउन भइरहेका प्रयासलाई सफल हुन नदिन जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले राजनीतिक परिवर्तन र उपलब्धिलाई जोगाई राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्नसमेत पार्टी निकट सञ्चारकर्मीलाई आग्रह गरे । ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाटै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलठूला परिवर्तन भएका छन्,’ उनले भने ।

अध्यक्ष दाहालले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसमा इन्टरनेट र डिजिटलाइजेसनले मुख्य रूपमा काम गरिरहेको उल्लेख गर्दै नयाँ प्रविधि र माध्यम प्रयोग गरी पार्टीको पक्षमा काम गर्न प्रेस संगठनलाई आग्रह गरे । उनले सरकारले इमानदारीका साथ काम गरिरहेकाले विरोधीहरूले गरेको प्रचारले कुनै अर्थ नराख्ने दाबी गर्दै त्यस्ता प्रचारको प्रतिवाद गर्नसमेत पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे ।

‘पाँच वर्षका लागि सरकार दिन्छौं भनेका थियौं, त्यो हामीले दिएका छौं । कुनै आशंका नपालौं, नराखौं,’ उनको भनाइ थियो । उनले पार्टीका विचार, राजनीतिक दृष्टि र कार्यक्रमलाई जनतामा पुर्याउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसमेत प्रेस संगठनलाई आग्रह गरे ।
कातिपुरबाट

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : ४८ बजे