मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिञ्चोक खचाखच, चरिकोट सुनसान



दोलखा । ललितपुरका सुरज श्रेष्ठ गत शुक्रबार साथीहरुसहित राजधानीको एउटा ट्राभल एजेन्सीमार्फत प्याकेज लिएर प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोक भगवतीको दर्शनमा निस्किए। खरिढुंगादेखि रमाइलो हावापानी र हिमशृंखलाको दृश्य नियाल्दै दोलखा प्रवेश गरेका उनीहरुको टोलीलाई एजेन्सीको गाडीले चरिकोट बजारभन्दा सात किलोमिटर यतै मकैबारीबाट कालोपत्रे सडक हुँदै कालिञ्चोकतर्फ उकाल्यो।

चरिकोट हुँदै कालिञ्चोक पुगिन्छ भन्ने ठानेका उनले पहाडको सुन्दर नगरी चरिकोट देख्नै पाएनन्। ‘फर्किदा पनि त्यही बाटो ओरालेर चरिकोट र भीमेश्वर मन्दिर नदेखाइ राजधानी फर्काइयो,’ शनिबार बोचमा भेटिएका उनले गुनासो पोख्दै भने, ‘टोलीमा हामी मात्र नभइ प्याकेजमै आएका अरु पनि थिए, अब चरिकोट र भीमेश्वरको दर्शन गर्न फेरि आउनुपर्ला।’
ललितपुरका सुरज मात्र हैन, भीमेश्वर नगरपालिकासहितका स्थानीय सरकारले पर्यटक घुमाउने योजना बनाउन नसक्दा घुम्न आउने अगन्तुक यसैगरी बिचैबाट सुटुक्क कालिञ्चोक मात्रै देखाएर फर्काइने गरिएको छ। पर्यटकीय सिजन सुरु भइसक्दा कालिञ्चोकको कुरीबजार खचाखच देखिन्छ भने जिल्ला सुदरमुकाम चरिकोट भने सुनसान हुने गरेको छ।

कालिञ्चोकमा भारी हिमपात भएका कारण कतिपय स्वदेशी पाहुना पहिलो प्राथमिकता दिएर उतैतिर उक्लिन रुचाउँछन्। तर, उनिहरुलाई कालिञ्चोकसहित प्रख्यात भीमेश्वर मन्दिरलगायत स्थान घुमाउने योजना पर्यटन व्यवसायी र होटल व्यवसायीले बनाउन सकेकै छैनन्। शुक्रबार र शनिबारसहित विदाको दिन कालिञ्चोकको कुरीबजारका होटल खचाखच हुने गरेको छ।

‘चरिकोटभन्दा सात किलोमिटर उतै मकैबारीबाट देउराली बजारसम्मको बाटो कालोपत्रे गरिएको छ,’ होटल पावनका सञ्चालक गणेश विक्रम शाहीले भने, ‘प्याकेजमा आउने मात्र हैन निजी सवारीमा आउनेसमेत त्यहींबाट कालिञ्चोक उक्लेर त्यतैबाट काठमाडौं फर्किन्छन्।’

कुनै बेला पर्यटक चरिकोट, दोलखा बजारसहित कुरीमा समेत बास बस्ने गर्थे। तर, केही वर्षयता मकैबारीबाट देउरालीसम्म कालोपत्रे सडक छिचोलिएपछि पर्यटक उतै उक्लिएर त्यतैबाट राजधानी फर्किने गरेको गुनासो चरिकोटका पर्यटन व्यवसायीको छ। शुक्रबार र शनिबार प्रायः भरिभराउ हुने चरिकोटका होटलका कोठा आधासमेत भरिन गाह्रो भएको होटल व्यवसायी बताउँछन्। आन्तरिक पाहुनाका लागि प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर, चरिकोट, महांकाल, पर्यटकीय नगरी जिरीलगायत पर्यटकीय स्थलको प्याकेज नबनाइएका कारण ती स्थान ओझेलमा पर्नसक्ने चिन्ता पर्यटन व्यवसायीको छ।

कतिपय स्थानीय भने राजधानीसँग जोड्ने जिल्लाको ‘लाइफलाइन’ चरिकोट–खाडीचौर सडकको दूरवस्थाका कारण आन्तरिक पर्यटक मकैबारीबाट सिधै कालिञ्चोक उक्लने गरेको बताउँछन्। ‘चरिकोटसम्म आइपुग्ने सडक नै लथालिंग छ,’ स्थानीय घनश्याम शिवाकोटीले भने, ‘मकैबारीबाट देउरालीसम्म कालोपत्रे गरेर छोटो बाइपास सडक बनाइएका कारण पर्यटक त्यतैबाट उक्लिन रुचाइएको देखिन्छ।’ शिवाकोटी होटल व्यवसायी र स्थानीय तहसहित सबैले जिल्लाभित्र घुम्ने प्याकेज बनाउनुपर्ने सुझाउँछन्।

यस्तै जिल्लाका प्रख्यात तीर्थ स्थलबीचको पौराणिक सम्बन्धबारे पर्यटकमाझ प्रचारप्रसार गरिनुपर्ने स्थानीयको भनाइ छ। सांस्कृतिक क्षेत्रका कतिपय अभियन्ता दोलखा भीमेश्वर र कालिञ्चोकको महिमा आ–आफ्नै भए पनि भीमेश्वरको दर्शनबिना कालिञ्चोक र कालिञ्चोकबिना भीमेश्वरको दर्शन अपूरो हुने तर्क अघि सार्ने गरेका छन्।

यस्तै भीमेश्वर नगरपालिकाले चरिकोटमा बास बसेर, कालिञ्चोक, भीमेश्वर, महांकाल, त्रिपुरासुन्दरीसहित अन्य स्थानीय सरकारसँग मिलेर जिल्लाभरका पर्यटकीय स्थल घुमाउने प्याकेज बनाउनु आवश्यक रहेको स्थानीयको भनाइ छ। यस्तै मकैबारीबाट कालिञ्चोक उक्लिने बाइपास सडकलाई एकतर्फी बनाइनुपर्ने सुझाव उनीहरुको छ।
नागरिक दैनिकबाट

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : ०४ बजे