दमौली,
तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
शुक्रवार बिहान १० बजेतिर पाल्पाको रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ की ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
बस सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन् ।
घाइते सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २५ जना सवार थिए ।








