डेढ वर्षमा बन्नुपर्ने प्रसारण लाईन पाँच वर्षमा पनि वनेन



डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनि पाँच वर्ष विति सक्दा पनि डडेल्धुरामा निर्माण भईरहेको ३३ केभी विद्युत प्रसारण लाईनको काम सम्पन्न हुन सकेको छैन । डडेल्धुरा भागेश्वर गाउँपालिका ४ मा निर्माण भईरहेको सव स्टेसनका लागि निर्माण गर्नु पर्ने ३३ केभी प्रसारण लाईनको विचमा भागमा वन क्षेत्र परेपछि निर्माण कार्यमा अवरोध सृजना भएको हो ।

डिभिजन वन कार्यालय ,सामुदायिक वन उपभोक्ता समुह र नेपाल विद्युत प्राधिकरणका विचमा समन्वय नहुँदा वुडर जोगवुढा डडेलधुरा वगरकोट आयोजना अन्र्तगत डडेलधुरामा निर्माण भईरहेको ३३ केभी विद्युत प्रसारण लाईनका लागि गाडीएका पोल समेत अल्पत्र परेका छन् । सव स्टेसन सम्मको वागवजार वगरकोट ३३ केभी प्रसारण लाईन डेढ वर्षमा निर्माण सक्ने गरी २०७१ सालमा टेण्डर भई सम्झौता गरिएको थियो ।

वागवजार वगरकोट सडक छेउमा गाडीएका पोल सडक कालोपत्रे गर्दा फालिएका थिए भने सामुदायिक वनमा तत्कालिन जिल्ला वन कार्यालय डडेलधुरा र सामुदायिक वनले रुख काट्न नदिदा ३३ केभी प्रसारण लाईनको निर्माण कार्य अल्पत्र परेको हो । वनको विवादका कारण ३३ केभी प्रशारण लाईन निर्माण हुन नसकेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का सम्झौता भईसकेकाले अवको चार महिना भित्रै निर्माण सम्पन्न हुने नेपाल विद्युत प्राधिकरण सुदुरपश्चिम प्रादेशीक कार्यालय अत्तरीया कैलालीका प्रमुख सतिश .कर्णले वताउँनु भयो । ‘पहिला वनका कारण पोल गाड्न नसकिएकाले ढिलो भयो’,प्रादेशीक कार्यालय प्रमुख कर्णले भने । ‘ पुरानो ठेक्का तोडेर चार महिनामा सक्ने गरी नयाँ ठेक्का भई सम्झौता भईसकेकाले अवको चार महिनामा ३३ केभी विद्युत प्रसारणको काम सम्पन्न हुन्छ ।’

भागेश्वर गाउँपालिका सहित अजयमेरु गाउपालिकाका केही वडाहरुमा भईरहेको भोल्टेज कम लाई हटाउनुका साथै यस क्षेत्रमा विद्युत वितरण गर्नका लागि सह गर्ने उदेश्यलें वगरकोटमा सव स्टेशन निर्माण गरिन थालिएको हो । ३३ केभी विद्युत प्रशारण लाईनको निर्माणमा भएको ढिलाईकै कारण ३ एमभिए क्षमताको यो सव स्टेशन संचालनमा आउन नसक्दा भागेश्वर गाउँपालिका सहित अजयमेरु गाउपालिकाका केही वडाका स्थानियहरुले विद्युतको भोल्टेज कम देखी विच विचमा विद्युत जाने समस्या झेल्दै आईरहेका छन् । सव स्टेशनको निर्माण कार्यपनि अन्तीम चरणमा पुगेको छ ।

प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार  १० : १९ बजे