जलरङमा नेपाली कला–संस्कृति समेटिने



रासस – जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ।

आगामी भदौ ३१ देखि असोज ६ गतेसम्म काठमाडौँ र कास्कीको धम्पुसमा आयोजना हुने महोत्सवमा विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक विविधताको ‘थिम’मा रहेर चित्र सिर्जना गर्नेछन्। उनीहरुलाई विदेशी चित्रका लागि अनुमति दिइने छैन।अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले मङ्गलबार मिति घोषणा गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउन नेपाली विषयवस्तुलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। आयोजकका अनुसार कला पर्यटनको विकास गर्नु यसको मुख्य उद्देश्य हो। मिति घोषणालगत्तै विभिन्न देशका कलाकारले नेपाल आउने प्रतिबद्धता जनाइसकेका छन्।

फिलिपिन्स, भारत, बङ्गलादेश र चीनका कलाकारले समूहगत रुपमै आउने बताएको समाजले जनाएको छ।

हरेक दुई वर्षमा हुने महोत्सवको पहिलो संस्करण सन् २०१६ मा काठमाडौँ र कास्कीको घान्द्रुकमा र दोस्रो संस्करण सन् २०१८ मा काठमाडौँसहित लुम्बिनीमा भएको थियो।

यसपटक भ्रमण वर्ष २०२० को अवसरमा आयोजना हुने भएकाले महोत्सवलाई खास बनाउन लागिएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए।

पर्यटन प्रवद्र्धनमा कला जतिको सशक्त माध्यम अरू छैन। एउटा कलाकार नेपाल आयो भने उसले कैयाँै वर्षसम्म नेपालकै चित्र सिर्जना गरिरहेको हुन्छ। ऊसँग जोडिएका लाखौँले हेरिरहेका हुन्छन् । त्यसले प्रचारप्रसारमा सहयोग पुग्छ। कलाकार तथा प्राध्यापक विश्वराज पराजुली चित्रकार सम्बन्धित देशका कलाका दूत नै हुन् भने।

महोत्सवमा कला, प्रदर्शनी, आर्ट डेमोस्ट्रेशन, अन्तरक्रिया, स्थलगत चित्रकला कार्यशालालगायत कार्यक्रम सञ्चालन हुनेछ । विश्वका ख्यातिप्राप्त चित्रकार सहभागी गराउने लक्ष्य राखिएको महोत्सवमा ५० देशका ३५० भन्दा बढी चित्र समावेश गर्ने योजना छ । विदेशी कलाकारलाई शुरुमा समाजले नेपाली विषयवस्तुका तस्बिर पठाइनेछ ।

उक्त चित्र हेरेर विदेशी चित्रकारले कला सिर्जना गरी पुनः पठाउनेछन्। तयार भएकामध्ये उत्कृष्ट छनोट भएका चित्र मात्रै छनोट हुने र प्रदर्शनी गरिनेछ।

 

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ८ : २९ बजे